बुटवल, ६ चैत । लुम्बिनी प्रादेशिक अस्पतालले आफ्नो ११६औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ। “अनवरत विश्वास र सेवामा समर्पित अविरल ११६ वर्ष” भन्ने नारासहित शुक्रबार वार्षिकोत्सव सम्पन्न भएको हो।
कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री टेकनारायण आचार्य ले अस्पताल स्थापना अग्रजहरूको सोच र योजनाबाट भएको उल्लेख गरे। उनले अस्पताललाई देशकै नमुना स्वास्थ्य संस्थाका रूपमा विकास गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।
मुख्यमन्त्री आचार्यले प्रदेशभित्रै सबै प्रकारका रोगको उपचार सम्भव हुने गरी सेवा विस्तारलाई प्राथमिकता दिइएको र नागरिकलाई सस्तो तथा सुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने वातावरण बनाइएको बताए। कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारू ले अस्पताललाई उत्कृष्ट अस्पतालको रुपमा मानिएको र प्रदेशको गौरवको स्तरलाई बढाउँदै गएको बताए। लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले स्वास्थ्य सेवा गुणस्तरीय बनाउन समुदाय र सरकारी सहकार्य आवश्यक रहेको बताए ।
उद्घाटन कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले अस्पतालले भौतिक पूर्वाधारसँगै सेवा सुविधामा उल्लेखनीय प्रगति गरेको बताइन्। उनले वि.सं. २०२७ सालदेखि सामान्य उपचारबाट सुरु भएको सेवा अहिले स्मार्ट प्रविधिसम्म पुगेको उल्लेख गर्दै बिरामीको चापबीच सेवा दिनु पनि अवसरका रूपमा लिनुपर्ने धारणा राखिन्।
प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठले अस्पतालको सेवालाई अझ गुणस्तरीय बनाउने तर्फ व्यवस्थापन समितिले काम गर्न सुझाव दिइन्। उनले स्थानिय तहका अस्पताललाई प्रभावकारी र क्रियाशिल बनाउन सके बिरामी ठूला अस्पतालमा कम हुने बताईन् ।
अस्पतालका सुपरिटेन्डेन्ट इन्द्र ढकालले अस्पतालको प्रगति र भावी योजनाबारे जानकारी गराए। कार्यक्रममा अवकाशप्राप्त कर्मचारीहरूलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो भने लामो समयदेखि सेवा दिने कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो।
स्थापना दिवसको अवसरमा आयोजित खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने कर्मचारीहरूलाई पनि पुरस्कृत गरिएको थियो।























