बुटवल, १८ असोज ।
काठमाण्डौ जारी राष्ट्रिय इन्डोर जुनियर पुरुष/महिला यु–२० कबड्डी प्रतियोगिता २०८३ मा लुम्बिनी प्रदेशको टिम अन्तिम चारमा स्थान बनाएको छ । अखिल नेपाल कबड्डी महासंघको आयोजनामा त्रिपुरेश्वर कबर्डहल असोज १६ गतेदेखि शुरु भएको प्रतियोगितामा पुरुष र महिला दुबै टिमले समुह चरणका दुबै खेलमा जित निकाल्दै अन्तिम चारमा स्थान बनाएका हुन ।
पुरुषतर्फ लुम्बिनीले पहिलो खेलमा कोशी प्रदेशलाई ५९–२५ अंकको जित निकालेको हो । खेलमा लुम्बिनीका क्षितिज गैरे म्यान अफ दी म्याचबाट पुरस्कृत भए । यसैगरि शनिबार भएको खेलमा लुम्बिनीले मधेश प्रदेशलाई ४९–३१ अंकले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । खेलमा लुम्बिनीका गणेश बिक म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि लिगचरणकै महिलातर्फको खेलमा लुम्बिनीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ५२–३५ अंकले पराजित गरेको थियो । खेलमा लुम्बिनीका कृष्टिना श्रेष्ठ म्यान अफ दी म्याचबाट पुरस्कृत भईन । यसैगरि शनिबार भएको दोस्रो खेलमा लुम्बिनीले कोशी प्रदेशलाई ५९–२६ अंकले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
खेलमा लुम्बिनीका अस्वीनी थारु प्लेयर अफ दी म्याचबाट पुरस्कृत भईन । लुम्बिनी प्रदेशको दुबै टिम आईतबार हुने सेमीफाईनलमा सुदुरपश्चिम प्रदेशसंग खेल्नेछ । प्रतियोगिता ७ प्रदेशका टिमहरु सहभागी रहेका छन ।






















