बुटवल, १७ असोज । नेकपा एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य मनकुमार कनौजेसहित विभिन्न राजनीतिक दलमा आबद्ध करिब १२० जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । रुपन्देहीको देवदह नगरपालिका–१० चरङ्गेमा शनिबार आयोजित रास्वपा निर्वाचन क्षेत्र समिति क्षेत्र नं. १ रुपन्देहीको विस्तारित बैठक तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरू रास्वपामा प्रवेश गरेका हुन् । कनौजे अघिल्लो स्थानिय निर्वाचनमा नेकपा एमालेबाट वडाअध्यक्ष पदमा झिनो मत अन्तरले पराजित भएका थिए ।
पार्टी प्रवेश गर्नेमा एमाले शाखा कमिटी अध्यक्ष ओमबहादुर राना, युवा संघ नगर अध्यक्ष विश्वास गुरुङ, नगर सदस्य मिनबहादुर गाहा, युवा संघ रुपन्देही जिल्ला सदस्य कृष्ण खत्री, नगर सदस्य रुपसिंह थापा, युवा संघ जिल्ला सदस्य अनिल खत्री, तिलक गाहा, एमाले पूर्व जिल्ला विभाग सदस्य नरबहादुर पुन तथा स्थानीय समाजसेवी मनबहादुर बराललगायत रहेका छन् ।
नवप्रवेशीहरूलाई रास्वपा सांसद ज्ञानु पौडेल, लुम्बिनी प्रदेश सदस्य विष्णुप्रसाद पौडेल र जिल्ला सभापति महेन्द्रप्रसाद उपाध्याय (चापागाईं) ले पार्टीको ब्याच लगाएर स्वागत गरेका थिए ।
कार्यक्रम नेपाल सरकारकी कृषि तथा वातावरणमन्त्री गीता चौधरीको प्रमुख आतिथ्यतामा हुने तय भए पनि निर्धारित समयभन्दा करिब तीन घण्टा ढिला कार्यक्रम सुरु भएको थियो । मन्त्री चौधरी कार्यक्रमस्थलमा उपस्थिती देखाएर फर्किईन । स्थानिय निर्वाचन नजिरहेको बेला पार्टी प्रवेश कार्यक्रमलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।






















