भैरहवा, ३ जेठ ।
भैरहवामा जारी पंचकन्या रुपन्देही सुपरलिग अन्तर्गत ‘ए’ डिभिजन क्रिकेट प्रतियोगितामा मेलवर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लबले जित निकालेको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा आइतबारको खेलमा मेलवर्नले बुद्ध क्रिकेट क्लबलाई ६ विकेटले पराजित गरेको हो । प्रतियोगितामा मेलवर्नको यो लगातार दोस्रो जित हो ।
सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बुद्धले ३४.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५७ रन बनायो । उसका लागि मिथिलेश यादवले ५६, दिलसाद अलीले ४०, सुरज पौडेलले २९ र विपिन शर्माले ११ रन बनाए । मेलवर्नका अशोक धामीले ५, रमेश कुर्मी, विपिन आचार्य र आरिफ खानले समान १–१ विकेट लिए ।
मेलवर्नले ३५.४ ओभरमा ४ विकेटको नोक्सानीमा लक्ष्य भेटायो । उसको जितमा विपिन आचार्यले अविजित ९४ रनको पारी खेले । यस्तै, आदित्य यादवले २३, अर्मन थारुले २० र अशोक धामीले १९ रनको योगदान गरे । बुद्धका विपिन शर्मा, दिलसाद अली, प्रवेज अन्सारी र अमित अग्रहरीले समान १–१ विकेट लिए । खेलमा मेलवर्नका विपिन आचार्य प्लेयर अफ द म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँबाट पुरस्कृत हुने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।




















