बुटवल, २० साउन ।
रोटरी डिस्ट्रिक्ट ३२९२ अन्तर्गत रोटरी वर्ष २०२६–२७ को ‘एक लाख बिरुवा रोप्ने अभियान’लाई निरन्तरता दिँदै रोटरी क्लब अफ बुटवल डाउनटाउनले तेस्रो पटक वृक्षारोपण तथा सरसफाइ कार्यक्रम गरेको छ । स्वर्गीय रो. गोपालराज राजभण्डारीको स्मृतिमा पर्यटकीय हिलपार्कस्थित क्लबको सचिवालय परिसरमा निर्माण गरिएको रोटरी गार्डेनमा वृक्षारोपण, गोडमेल तथा सरसफाइ गरिएको हो ।
कार्यक्रममा क्लबका अध्यक्ष धर्मराज ज्ञवालीले वातावरण संरक्षण अहिलेको महत्वपूर्ण विषय भएकाले रोटरीले यसलाई प्राथमिकतामा राखेर विश्वभर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले वातावरण संरक्षणमा क्लबको तर्फबाट सानो भए पनि योगदान पु¥याउने उद्देश्यले एक हजार बिरुवा रोप्ने र संरक्षण गर्ने अभियान सञ्चालन गरिएको बताए ।
सोही अभियानअन्तर्गत लगातार तेस्रो हप्ता वृक्षारोपण तथा सरसफाइ कार्यक्रम गरिएको उनको भनाइ छ । क्लबले यसअघि अभियानअन्तर्गत बुटवलको सिक्स लेन सडकमा रहेको हरियाली गार्डेन तथा माण्डव्य सेवाश्रम परिसरमा समेत वृक्षारोपण गरिसकेको छ । क्लबले विशेष स्थान छनौट गरि वृक्षारोपण गर्ने र त्यसलाई संरक्षण र हुर्काउने कार्यलाई समेत अभियानको महत्वपूर्ण पक्षका रूपमा अघि बढाएको छ ।
भिडियो रिर्पोट






















