बुटवल, ३ जेठ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा वैशाख महिनामा जिल्लाभर १८६ वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका छन् भने १९४ जना प्रतिवादी पक्राउ गरेको छ । एक महिनाको अवधिमा ज्यान सम्बन्धी २४, आत्महत्या २३, चोरी १५, संगठित तथा आर्थिक अपराध ४६, सामाजिक अपराध ४९, महिला तथा बालबालिका सम्बन्धी १२ र सवारी सम्बन्धी १७ मुद्दा दर्ता भएका छन् ।
वैशाख महिनामा २३ वटा आत्महत्याका घटना भएका छन् । तीमध्ये २० जनाले झुन्डिएर र ३ जनाले विषादी सेवन गरी आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा १८ पुरुष र ५ महिला रहेका छन् ।
यसैगरि फैसला कार्यान्वयनतर्फ ९० जना फरार प्रतिवादी पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाबाट ५८ लाख ३४ हजार ७४५ रुपैयाँ जरिवाना असुली हुनुका साथै ६३ वर्ष २ महिना १२ दिन बराबरको कैद सजाय कार्यान्वयन गरिएको छ ।
यसअवधिमा घरेलु हिंसाका ८४ उजुरी परेकामा ७६ वटा मिलापत्र गरिएको छ । महिला छिमेकीबीचका झगडासम्बन्धी ३८ उजुरीमध्ये ३२ वटा समाधान गरिएको प्रहरीले जनाएको छ । घरेलु हिंसाका घटनामध्ये घरायसी झै–झगडा, कुटपिट, मादक पदार्थ सेवन गरी गालीगलौज लगायतका घटना बढी रहेका छन् ।
हराएका महिला, पुरुष, बालबालिका तथा ज्येष्ठ नागरिकको संख्या १२१ पुगेको छ । तीमध्ये ६५ जना फेला परेका छन् भने अघिल्लो आर्थिक वर्षका घटनामध्ये थप ४६ जना खोजी गरी परिवारको सम्पर्कमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले बताए ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालय र समुदाय केन्द्रित १६२ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । ती कार्यक्रममा ५ हजार ६ सय ८५ जनाभन्दा बढी सहभागी भएका थिए ।




















