काठमाडौं । पत्रकार परिचयपत्रको आडमा लागुऔषध ओसारपसार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सिन्धुलीको दुधौली नगरपालिका–९ स्थित सडकखण्डबाट प्रहरीले ४४ ग्राम ३४० मिलिग्राम खैरो हेरोइनसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा सिरहाका २६ वर्षीय उमेशकुमार यादव, ३० वर्षीय रमेशकुमार राम र २५ वर्षीय गुल्सनप्रसाद साह रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको विशेष प्रहरी टोलीले सिरहाको मिर्चैयाबाट काठमाडौं आउँदै गरेको बा.१६ च ७८४६ नम्बरको कारलाई शंकास्पद रूपमा जाँच गर्दा गियर बक्सभित्र लुकाएर राखिएको अवस्थामा खैरो हेरोइन फेला पारेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कार चालक उमेशकुमार यादवको साथबाट ‘जनजागरण खबर’ नामक सञ्चारमाध्यमको पत्रकार परिचयपत्रसमेत फेला परेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा पत्रकार परिचयपत्रको प्रयोग गरी चेकजाँचबाट उम्कने प्रयास भएको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ । प्रहरीले बरामद भएको परिचयपत्र सक्कली वा नक्कली के हो भन्ने विषयमा समेत अनुसन्धान अघि बढाएको छ ।
परिचयपत्र कसरी प्राप्त भयो र त्यसको प्रयोगमा अन्य व्यक्तिको संलग्नता वा मिलेमतो छ कि छैन भन्ने विषय पनि अनुसन्धानको दायरामा राखिएको छ । पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषध (नियन्त्रण) ऐनबमोजिम थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरो बर्दिबासले जनाएको छ । प्रहरीले पत्रकार परिचयपत्र वा ‘प्रेस’ लेखिएको सवारीसाधनलाई आपराधिक गतिविधिमा प्रयोग गरिएको पाइएमा त्यसबारे समेत अनुसन्धान गरिने जनाएको छ ।





















