बर्दघाट, १ जेष्ठ
बर्दघाटमा शुरु भएको अन्तर वडा क्रिकेट प्रतियोगितामा वडा नम्बर ४ ‘ए’ ले विजयी गरेको छ । बर्दघाट नगरपालिकाको आयोजनामा शुक्रबार देखी सुरु भएको प्रतियोगितामा वडा नम्बर १० लाई ४ विकेटले पराजित गर्दै वडा नम्बर ४ ले अघिल्लो चरणको यात्रा सुनिश्चित गरेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको वडा नम्बर १० ले निर्धारित २० ओभरको खेलमा १८ ओभर खेल्दै मात्र ८५ रनको झिनो स्कोर खडा गरेको थियो । उसका लागि स्पन्दनले १४ र सरोज खनालले १२ रनको योगदान गरे । अन्य ब्याटरहरुले दोहोरो अँक समेत जोड्न सकेनन् । वडा नम्बर १० लाई सस्तैमा धराशायी बनाउन वडा नम्बर ४ का सुरज श्रेष्ठले ३ ओभरमा १० रन खर्चदै ४ विकेट लिए । यस्तै प्रज्जव अर्यालले किफायती बलिङ गर्दै ४ ओभरमा मात्र ७ रन खर्चेर १ विकेट लिएका थिए ।
झिनो लक्ष्य पच्छाएको वडा नम्बर ४ ले १३ ओभरमा ६ बिकेटको नोक्सानीमा जित निकाल्यो । वडा नम्बर ४ का लागि प्रज्जवल अर्यालले सर्वाधिक २३ रनको पारी खेले । उनले १ छक्का र २ चौकाको मद्दतमा २० रनमा २३ रन जोडेका थिए । म्यान अफ दि म्याच घोषित सुरज श्रेष्ठले १६ बलमा १७ र सौरभ सुवेदीले नटआउट २० रनको पारी खेलेका थिए ।
प्रतियोगिताको उद्घाटन गर्दै बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरबाट क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताए । राष्ट्रिय खेलाडीहरु रोहित पौडेल र दिपक डुम्रेले क्रिकेटबाटै नगरको नाम उँचो गराएको बताउँदै थप खेलाडी उत्पादन गरि नगरको नाम उँचो गराउने उद्देश्य रहेको बताए ।
नगर खेलकुँद विकास समितिका अध्यक्ष दिपक थापाले नगर भित्र रहेका प्रतिभावान खेलाडीको पहिचान गरि युवाहरुलाई खेल प्रति आकर्षित गर्न प्रतियोगिताले सहयोग पुग्ने बताए । प्रतियोगिता आगामी विहिबारसम्म सँचालन हुनेछ ।



















