Spread the love

बुटवल, ३ वैशाख ।
नेपालमा हाल दैनिक ७ देखि ९ जनाले सडक दुर्घटनामा ज्यान गुमाउने गरेको तथ्याक छ । नेपाल विश्वमा नै धेरै दुर्घटना हुने देशमा अगाडी छ । यसले आम नागरिकको जिवनमा धेरै प्रभाव पार्छ । चालक, मजदुर र व्यवसायीलाई पर्ने ठूलो आर्थिक क्षतिमा यातायात मजदुर तथा व्यवसायी भलाइ कोष महत्वपूर्ण अभिभावकीय भूमिका निर्वाह गर्दै आएको छ ।

कोषको ५२ औँ स्थापना दिवस तथा ४८ औँ वार्षिक साधारणसभाका अवसरमा बोल्ने वक्ताहरूले सडक दुर्घटनाको आर्थिक जोखिम न्यूनीकरण गर्न कोष एक प्रभावकारी माध्यम बनेको चर्चा गरे । बिहीबार बुटवलमा आयोजित साधारणसभाको उद्घाटन गर्दै कोषका पूर्वअध्यक्ष कुमार थापाले पछिल्लो समय सवारी साधनको संख्यामा भएको तीव्र वृद्धिसँगै सडक दुर्घटना एक गम्भीर राष्ट्रिय चुनौतीका रूपमा देखा परेको बताए । देशभर सवारी साधनको संख्या ८० लाख नाघिसकेको तथ्यांक प्रस्तुत गर्दै उनले सडकमा सवारीको चाप उल्लेख्य रूपमा बढेको बताए । यसको दीर्घकालीन समाधानका लागि सरकारले एक शक्तिशाली आयोग वा बोर्ड गठन गर्न सुझाव दिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष दिनेश फुल्लेलले मजदुर र व्यवसायीको हकहितमा कोषबाट योगदान दिदै आएको बताए । हाल देशभर २९ वटा शाखा र ६८ जना कर्मचारीमार्फत सेवा प्रवाह गरिरहेको जानकारी दिँदै उनले आर्थिक वर्ष २०८२/८३ मा मात्रै एक हजार १३५ वटा सवारी दुर्घटनामा आर्थिक, नैतिक र भौतिक सहयोग गरिएको बताए । उनले यसै वर्षदेखि साविक लुम्बिनी अञ्चलका ६ जिल्लाहरू कपिलवस्तु, नवलपरासी, रुपन्देही, गुल्मी, पाल्पा र अर्घाखाँचीमा प्रथम पक्ष (ओडी) सवारी साधनमा शतप्रतिशत लगानी गर्ने कार्यको सुरुवात गरिएको जानकारी दिए । हाल दुर्घटनापश्चात् घाइतेको उपचारका लागि ३ लाख र मृत्यु भएमा क्षतिपूर्तिबापत बिमाबाट ५ लाख पाप्त हुने बताउँदै अध्यक्ष फुल्लेलले यो रकमलाई समयसापेक्ष बनाउनुपर्नेमा जोड दिए ।

त्यस्तै, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण यातायात क्षेत्र संकटमा परेको र विद्युतीय गाडीको बढ्दो प्रयोगसँगै मर्मत खर्च र पार्टपुर्जामा हुने भन्सार शुल्क लगायतका विषयमा सरकार गम्भीर हुनुपर्ने बताए ।

कार्यक्रममा पूर्वअध्यक्ष चिनबहादुर गुरुङ, रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुली, रुपन्देही ब्यापार संघका अध्यक्ष प्रकाश ढकाल, बुटवल उद्योग वाणिज्य संघका महासचिव मुक्ति अधिकारी, लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष रुमाखर गौतम, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, कोषका पूर्व सहसचिव काजिमान श्रेष्ठले सडक दुर्घटना न्युनीकरणका लागि संस्थागत रुपमा तालिम र अभिमुखिकरणसँगै साझा एजेन्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
सोही अवसरमा दुर्घटनामा ज्यान गुमाएका चालक खेमबहादुर सारुको परिवारलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । साथै, संस्थामा २५ वर्षभन्दा लामो समय सेवा गर्ने कर्मचारीहरू सरस्वती ढकाल अर्याल र निर्मल शर्मा पाण्डेलाई पनि विशेष सम्मान गरिएको थियो ।

कोषको कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ८२ जनाले रक्तदान गरेका थिए । सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम अध्यक्ष फुल्लेलले बताए । बिरामीहरुलाई रगतको अभाव झेल्नु नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको कोषका महासचिव योग गुरुङले जानकारी दिए । त्यस अवसरमा कोषले निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरेको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्