बुटवल, १ चैत ।
‘मेरो मेला, तपाईको मेला, हामी सबैको मेला’ नारासहित बुटवलको देविनगरमा आईतबारदेखि ‘बुटवल महामेला’ शुभारम्भ भएको छ । बुटवल उपमहानगरपालिका संरक्षकत्व तथा फर्वार्ड नेपाल मल्टिप्रपोज कम्पनीको आयोजनामा देवीनगरस्थित रंगशालामा सञ्चालन भएको मेलाको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका छन ।
कार्यक्रममा कम्पनीका अध्यक्ष गोविन्द भुषालले बुटवललाई आर्थिक रुपमा चलायमान गराउन मेलामहोत्सव चलाउन आवश्यक हुने बताए । मेलामा दर्शकको मनोरन्जनसंगै पर्यटन प्रर्वद्धन हुने र सुचना दिने स्टलहरु समेत रहेको उनले बताए । मेलामा आकर्षणको रुपमा बुज्र खलिफा, सिंहदरबार, धरहरा, बुद्ध मूर्ति लगायत लुम्बिनीको झल्कोदिने गरी सचिवालय निर्माण गरिने अध्यक्ष भुसालले बताए । मेलालाई थप आकर्षक बनाउन टिकटक प्रतियोगिता, डान्स प्रतियोगिता लगायतका कार्यक्रमहरू पनि सञ्चालन गरिने उनको दाबी छ ।
मेलामा विभिन्न प्रकारका १ सय २० वटा स्टल रहनेछन् । यस्तै मेला अवधिभर करिब ५ लाख दर्शक आउने र ५ करोड भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष भुसालले जानकारी दिए । राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिकप्रस्तुति रहनेछ । चैत २४ गतेसम्म संचालन हुने मेलामा करिब पाँच लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
यसैबिच मेलाको उद्घाटन अघि वृहत सचेतनामुलक सास्कृतिक रयाली निकालिएको थियो । मेलास्थलबाट शुरु भएको रयालीमा स्थानिय टोल विकास संस्था, जात जातीका भेषभुषासहित सहभागी भएका थिए ।




















