काठमाडौं, २ चैत ।
नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको हो ।
नयाँ मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको मूल्य वृद्धि गरिएको छ । पेट्रोलको मूल्य प्रतिलिटर ३१ रुपैयाँले बढाइएको छ भने डिजेल प्रतिलिटर ५४ रुपैयाँले वृद्धि गरिएको छ। त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिग्यास सिलिन्डर २१६ रुपैयाँले बढाइएको निगमले जनाएको छ । निगमका अनुसार मध्यपूर्व तथा पश्चिम एसियामा देखिएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको छ।
नेपालमा पेट्रोलियम पदार्थको आफ्नै स्रोत नभएकाले यस्ता अन्तर्राष्ट्रिय परिस्थितिले इन्धन आपूर्ति र मूल्य व्यवस्थापनमा प्रत्यक्ष प्रभाव पार्ने गरेको निगमले जनाएको छ । निगमले नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सहयोग गर्दै आएको इन्डियन आयल कर्पोरेशन प्रति धन्यवाद व्यक्त गरेको छ ।
भारतबाट आयात गरिने इन्धनकै भरमा नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति हुने गरेको छ । निगमले देशभर पेट्रोलियम पदार्थको नियमित आपूर्ति कायम राख्न आवश्यक पहल जारी रहने जानकारी दिएको छ ।




















