Spread the love

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग श्रम स्वीकृति नलिई राष्ट्रिय लिग खेलिरहेका विदेशी खेलाडीहरूको विवरण माग गरेको छ । राखेपले आइतबार एन्फालाई पत्र पठाउँदै हाल सञ्चालनमा रहेको राष्ट्रिय लिगमा सहभागी केही विदेशी खेलाडीहरूले श्रम स्वीकृति वा इजाजत नलिई खेलिरहेको भन्ने उजुरी प्राप्त भएको जनाएको छ ।

राखेपको संघ–संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले हस्ताक्षर गरेको पत्रमा राष्ट्रिय लिगमा सहभागी क्लबहरूले विदेशी खेलाडीलाई पर्यटक भिसामा नेपाल ल्याएर खेलाइरहेको हुन सक्ने आशंकासहित छानबिन गरी आवश्यक कारबाही गर्न माग गर्दै उजुरी परेको उल्लेख गरिएको छ ।

पत्रमा भनिएको छ, “राष्ट्रिय लिगमा १७ वटा टिम सहभागी रहेकोमा केही क्लबहरूले विदेशी खेलाडीलाई श्रम स्वीकृति वा इजाजत नलिई पर्यटक भिसामै खेलाइरहेको भन्ने व्यहोराका उजुरी प्राप्त भएकाले यस विषयमा छानबिन आवश्यक देखिएको छ ।” श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट प्राप्त जानकारीका आधारमा राखेपले एन्फासँग स्पष्ट विवरण माग गरेको जनाएको छ ।

राखेपले श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ अनुसार श्रम स्वीकृति नलिई विदेशी नागरिकलाई काममा लगाउन नपाइने कानुनी व्यवस्था रहेको पनि स्मरण गराएको छ । पत्रमा राष्ट्रिय लिगमा सहभागी क्लबहरूले कुन–कुन देशका विदेशी खेलाडीलाई कुन भूमिकामा अनुबन्ध गरेका छन्, उनीहरूले श्रम स्वीकृति लिएका छन् वा छैनन् भन्ने नामावलीसहित विस्तृत विवरण यथाशीघ्र उपलब्ध गराउन एन्फालाई आग्रह गरिएको छ । राखेपले प्राप्त विवरणका आधारमा आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्