Spread the love

काठमाडौँ । बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएका छन्। सडक विभाग तथा सम्बन्धित निकायको विवरणअनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही सडकखण्डमा यातायात प्रभावित भएको छ।

बागमती प्रदेशमा रसुवाको मुख्य राजमार्गमा बाढीका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको छ। अवरोध हटाउने काम भइरहेको र अर्को सूचना नभएसम्म यातायात सञ्चालन हुन नसक्ने जनाइएको छ। यस्तै, धादिङको धुनीबेँसी नगरपालिका–९ खत्रीपौवामा पहिरोका कारण त्रिभुवन राजपथ एकतर्फी सञ्चालन भइरहेको छ।

गण्डकी प्रदेशमा म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। नवलपरासी पूर्वको गैँडाकोट क्षेत्रमा कालीगण्डकी करिडोरको चौकीकाली गाउँपालिका–३ जन्ती पहिरोमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ। मनाङमा पनि बाढीका कारण बेँसीसहरदेखि चामेसम्म जाने सडकखण्ड प्रभावित भएको छ र एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ।

त्यस्तै, लुम्बिनी प्रदेशको कपिलवस्तुमा शिवराज नगरपालिका–१ चोरखोला र बनकट्टी आसपासको पूर्व–पश्चिम राजमार्गमा पहिरोका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको विवरणमा उल्लेख छ।

सम्बन्धित निकायले सडक अवरोधका कारण यात्रा प्रभावित हुनसक्ने भएकाले चालक तथा यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्