Spread the love

बुटवल,२६ असोज ।

रूपन्देहीका उद्योगीहरूले उद्योग व्यवसाय सञ्चालनका क्रममा भोग्नुपरेका नीतिगत समस्या, करको भार, जग्गाको अभाव, बैंकबाट ऋण लिन कठिनाइ तथा औद्योगिक क्षेत्र व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न तीनै तहका सरकारसँग आग्रह गरेका छन् । रूपन्देही उद्योग संघको सोमबार बुटवलमा सम्पन्न ४८औँ साधारणसभामा सहभागी उद्योगीहरूले उद्योगमैत्री वातावरण निर्माण, लगानीको सुरक्षा र निजी क्षेत्रको मनोबल बढाउने नीति आवश्यक रहेको बताएका हुन्् ।

कार्यक्रममा अध्यक्ष कृष्णप्रसाद पराजुलीले संघको धारणा प्रस्तुत गर्दै उद्योगीहरूले विभिन्न शीर्षकमा धेरै स्थानमा कर तिर्नुपरेको, उद्योग विस्तारका लागि पर्याप्त जग्गा उपलब्ध नभएको तथा नीतिगत जटिलताका कारण व्यवसाय सञ्चालनमा कठिनाइ भएको गुनासो गर्नुभएको थियो । वहाँले स्वदेशी उद्योगीलाई टिकाउने नीति बनाउन तीनै तहका सरकारको ध्यानाकर्षण गराएका थिए । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटनमन्त्री तुलसी चौधरीले उद्योगीका समस्या तीनै तहका सरकारसँग जोडिएको बताए ।

उनले रूपन्देही औद्योगिक क्षेत्रको केन्द्र तथा अर्थतन्त्रको जग भएको उल्लेख गर्दै उद्योग बलियो नभएसम्म सम्बन्धित क्षेत्रको विकास सम्भव नहुने धारणा राखे उनले केही नीतिगत समस्याका कारण उद्योगीहरूले कठिनाइ भोग्नुपरेको बताउँदै बैंकको ब्याजदर घटे पनि उद्योगीहरूले सहज रूपमा ऋण प्राप्त गर्न नसकेको उल्लेख गरे । रूपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुलभ खरेलले मुलुकमा अपेक्षित आर्थिक प्रजातन्त्र स्थापित हुन नसकेको बताए । उनले अन्तर्राष्ट्रिय राजनीतिक समस्याका कारण मूल्यवृद्धि बढेको र बजारमा अस्थिरता देखिएको उल्लेख गरे ।

कार्यक्रमका विशिष्ट अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्यालले स्थानीय तहले गर्न खोजेका काममा विभिन्न अवरोध रहेको बताईन । कार्यक्रममा उद्योगी मेघराज भण्डारी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल, रूपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल, बेलहिया भन्सार कार्यालयका प्रमुख हरिहर पौडेल, संघका अध्यक्ष परिषद्का संयोजक तेजकुमार पाठक, संघका पूर्वअध्यक्ष तथा लुम्बिनी उद्योग परिसंघका लुम्बिनी अध्यक्ष एजाज आलम, राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देहीका अध्यक्ष महेन्द्र उपाध्याय, नेकपा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे र श्रम संस्कृति पार्टीका अध्यक्ष छविलाल गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्