काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको समेत प्रभाव रहेको छ।
हाल बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका सबै भू–भाग तथा कोशी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागमा सामान्यतया बदली रहेको छ। मधेश प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ।
गण्डकी र लुम्बिनीका केही स्थान तथा बागमती, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशका हिमाली र पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा भने एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुनसक्नेछ।
यस्तै, कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा भने मेघगर्जन, चट्याङ र असिनासहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
तराईका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति कोशी प्रदेशका सबै भू–भाग तथा देशका बाँकी हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुनसक्नेछ। मधेश तथा कोशी प्रदेशका तराई क्षेत्रमा समेत थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।






















