बुटवल, १८ असोज । सामाजिक सेवामा सक्रिय रोटरी क्लब अफ बुटवलअन्तर्गत दुई नयाँ इन्टरयाक्ट क्लब चार्टर गरिएको छ । एभरेस्ट इङ्लिस बोर्डिङ स्कुल र अन्नपूर्ण सेकेन्डरी स्कुलमा नयाँ इन्टरयाक्ट क्लब गठन गरी चार्टर गरिएको हो । रोटरी क्लब अफ बुटवलको १६३१ औँ नियमित साप्ताहिक बैठक तथा चार्टर प्रस्तुतीकरण समारोहका अवसरमा आइतबार कार्यक्रम आयोजना गरिएको थियो । युवालाई नेतृत्व विकाससँगै सामाजिक सेवामा सक्रिय बनाउने उद्देश्यले क्लब गठन गरिएको रोटरी क्लब अफ बुटवलका अध्यष यदुनाथ पाण्डेयले बताए ।
कार्यक्रममा रोटरी क्लब अफ बुटवलका असिस्टेन्ट गभर्नर (एजी) ओम जैसीले औपचारिक उद्घाटन गर्दै रोटरीको मुलमन्त्रलाई आत्मसात गर्दै ब्यक्तिगत क्षमता विकास र सामाजिक उत्तरदायित्वमा योगदान दिन आग्रह गरे ।
कार्यक्रममा इन्टरयाक्ट क्लब अफ एभरेस्टकी अध्यक्ष विधाता थापा र इन्टरयाक्ट क्लब अफ अन्नपूर्णकी अध्यक्ष करिष्मा भुषाललाई जेडआईआर विधान भण्डारीले पद तथा गोपनीयताको शपथ गराए । यसैगरि एजी ओम जैसी, रोटरी क्लब अफ बुटवलका अध्यक्ष यदुनाथ पाण्डेलगायतले नवगठित क्लबका पदाधिकारी तथा सदस्यलाई रोटरी पिन, चार्टर प्रमाणपत्र, प्रेसिडेन्ट कलर, गेभल तथा ह्यामरसमेत हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा जेडआईआर विधान भण्डारीले इन्टरयाक्टमार्फत व्यक्तिगत क्षमता विकास, समूहमा काम गर्ने सीप तथा विभिन्न सिकाइ गतिविधिबाट विद्यार्थीले लाभ लिन सक्ने बताए । क्लबमा सक्रिय भएर बढीभन्दा बढी उपलब्धि हासिल गर्न विद्यार्थीलाई उनले सुझाव दिए ।
न्यू होराइजन बोर्डिङ स्कुलका प्राचार्य बासुदेव अर्यालले नियमित पठनपाठनसँगै नेतृत्व विकास र सामाजिक कार्यमा विद्यार्थीलाई अग्रसर गराउने उद्देश्यले इन्टरयाक्ट क्लबको भूमिका महत्वपूर्ण हुने बताए ।
एभरेस्ट बोर्डिङ स्कुलका प्राचार्य कृष्ण न्यौपानेले रोटरीका शान्ति, नेतृत्व विकास र सामाजिक सेवाका उद्देश्यलाई आत्मसात् गर्दै अघि बढ्न विद्यार्थीलाई आग्रह गर्दै ‘सेवा नै मूल धर्म’ भन्ने भावना विकास गर्नुपर्नेमा जोड दिए ।
अन्नपूर्ण बोर्डिङ स्कुलका प्राचार्य मित्रमणि आचार्यले पनि विद्यार्थीको नेतृत्व क्षमता विकास र सामाजिक उत्तरदायित्व अभिवृद्धिमा इन्टरयाक्ट क्लबले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
नयाँ दुई क्लब थपिएसँगै रोटरी क्लब अफ बुटवलअन्तर्गत ८ वटा विद्यालयमा इन्टरयाक्ट क्लब सञ्चालनमा आएको क्लबका सचिव रो. दिवाकर घिमिरेले बताए । क्लबहरूले विद्यार्थीलाई नेतृत्व, सामाजिक सेवा, सामुदायिक सहभागिता तथा व्यक्तित्व विकासका गतिविधिमा सहभागी गराउँदै आएका छन् ।




















