बुटवल, १६ असोज ।
बुटवलमा शुरु भएको चौथो लाफा तथा प्रथम वडाअध्यक्ष कप फुटसल प्रतियोगिता २०८३ को पहिलो दिनको खेलमा विजयी हुदै न्यू होराईजन स्पोट्स क्लब, मर्दीखोला युनाईटेड, मणिग्राम युनाईटेड र मोहन एफसी ए अन्तिम आठमा स्थान बनाएका छन ।
एड्रिक फुटसल मैदानमा भएको खेलमा न्यू होराईजनले एकेडेमी अफ बारटेण्डरलाई, मणिग्राम युनाईटेडले रानीगंजा, मर्दीखोला युनाईटेडले सिद्धार्थ फुटबल र मोहन एफसी ए ले सिल्ली रेबिटलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका हुन ।
युवा खेलाडीहरुलाई प्रतिभा प्रस्फुटन गर्ने उदेश्यका साथ लाफा समुहको आयोजनामा शुरु भएको प्रतियोगिताको बुटवल उपमहानगरपालिका वडा नं. ८ का वडाअध्यक्ष यज्ञप्रसाद पंगेनी, क्लबका उपाध्यक्ष जिवन राना, क्लबका संस्थापक अध्यक्ष तारा रेश्मी, क्लबका मार्गदर्शक बासुदेव लामिछाने मगर, खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले रेफ्रीलाई बल हस्तान्तरण गरि उद्घाटन गरे ।
पहिलो दिनकै खेलमा मोहन एफसीले शिवनगर एफसीलाई, फ्रेन्डस एफसीले चिया चा, मर्दीखोला युनाईटेडले दमकदा ब्रदर्श, मोहन एफसी बि ले फुलबारी गाईज, लाफा समुहले लेड बेसक्याम्प, एन्फा बुटवलले एसवाईसि जुनियर, मणिग्राम युनाईटेडले लर्ड बुद्धलाई पराजित गरेको थियो ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद ७० हजार तथा उपविजेता टिमलाई ३५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने कार्यक्रम संयोजक बारिस रानाले बताए । यसैगरि प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई २ हजार ५ सय, उत्कृष्ट गोलकिपर र हाई स्कोररलाई नगद २ हजार रुपैया, कपबाट पुरस्कृत गरिने उनले बताए । दुई दिनसम्म चल्ने प्रतियोगितामा २२ टिमले भाग लिएका छन ।




















