बुटबल, १५ असोज । विभागीय टोलीको नेपाल पुलिस क्लब, खैरा भलिबल क्लब पन्जाब र सभापोखरी भलिबल क्लब बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बुटवलको बिआइसिसी सम्मेलन केन्द्रमा विहिबार भएको समूह ‘ए’ को अन्तिम खेलमा पुलिसले मणिमुकुन्द भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गरेको हो । रोमाञ्चक खेलमा पुलिसले मणिमुकुन्द २५–२०, २३–२५, २५–२०, १८–२५, १५–१२ को जित निकाल्यो । लगातार ३ खेलमा जितसंगै ८ अंकका साथ समुह विजेता बन्दै पुलिस अन्तिम चारमा स्थान बनाएको हो । यो समूहमा खैरा भलिबल क्लब उपविजेता बन्दै अन्तिम चारमा स्थान बनाएको छ ।
बिहीबार नै भएको खेलमा खैराले श्रीलंका पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो । खैराले श्रीलंका पुलिसमाथि २५–२०, २५–२०, १९–२५, २५–१७ को जित निकालेको हो । हारसँगै मणिमुकुन्द र श्रीलंका पुलिस प्रतियोगिताबाट बाहिरिएको छ ।
यस्तै समूह ‘बी’ को खेलमा लगातार दोस्रो जित निकाल्दै सभापोखरी भलिबल क्लब सेमिफाइनलमा पुग्न सफल भयो । सभापोखरी क्लबले एपिएफ क्लबलाई ३–१ को सेटमा हरायो । भारतीय खेलाडीको साथ पाएको सभापोखरीले एपिएफमाथि २४–२६, २५–१९, २५–२०, २०–११ को जित निकालेको थियो । विहिबारको अन्तिम खेल भने पूरा हुन सकेन । एपीएफ र गुजरात स्पोर्टिङ क्लबबीचको लिग चरणको अन्तिम खेलमा दुवै टोलीले समान १–१ सेट जितेपछि सहमतिमै खेल स्थगित गरिएको हो । दुवै टोलीले बाँकी खेल भोलि खेल्ने छ ।
मदन भण्डारी स्पोट्र्स एकेडेमीले आयोजना गरेको प्रतियोगितामा विदेशका तीन र नेपालको चार गरी सात टोलीले भाग लिएका छन । असोज १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले रनिङ्ग शिल्डसहित सात लाख रुपैयाँ र उपविजेताले तीन लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
भिडियो रिर्पोट




















