बर्दघाट, २७ असोज ।
विश्व लिग २ क्रिकेटमा नेपालले घरेलु टोली ओमानलाई १ सय १३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जितसँगै नेपालको एकदिवसिय मान्यता कायम रहने सम्भावना थप बलियो बनेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६३ रनको योगफल तयार पारेको थियो ।
सुरुवाती ओभरमा रन बटुल्न सँघर्ष गरेको नेपालले सातौँँ ओभरमा टिम स्कोर मात्र १७ हुँदा ओपनर आशिफ शेखलाई ब्यक्तिगत ४ रनमा गुमाएको थियो । ओपनर अर्जुन कुमाल र इशान पाण्डेले सम्हालिँदै टिमलाई २१ औँ ओभरसम्म डोहोर्याएका थिए । दोश्रो विकेटको रुपमा पाण्डे ३७ रनमा पवेलियन फर्के । २ विकेटको क्षति ब्यहोरेको नेपालले लगत्तै अर्जुन कुमाललाई पनि गुमाउन पुग्यो, कुमाल ४० रनमा आउट भए ।
मध्यक्रमका रोहित पौडेलले ओमान विरुद्धको खेलमा पनि उत्कृष्ट ब्याटिङ गर्दै ६१ रनको अर्धसतकिय पारी खेले । मध्यक्रमले नेपालको ब्याटिङ धराशायी हुनबाट जोगाउने क्रममा बसिर अहमदले ३७ र दिपेन्द्र सिँह ऐरीले २२ रनको योगदान गरे ।
पुछारतिर मैदान प्रवेश गरेका करन के.सी. ले विस्फोटक ब्याटिङ गरे । उनले ४ छक्का र १ चौकाको मद्दतमा मात्र १६ बलमा ४० रन बटुले । ओमनका लागि शाह फैजल, सहिल अहमद र करन शोनाभलेले समान २–२ र हुसैन शाहले १ विकेट लिए ।
२ सय ६३ रनको लक्ष्य पच्छाउँदै मैदान प्रवेश गरेको घरेलु टोली ओमानको सुरुवात निकै कमजोर रह्यो । सुरुवाती ब्याटरहरु क्रिजमा टिक्नै सकेनन् । मध्यक्रमका ७७ रनको पारी खेले पनि टिमलाइ जित भने दिलाउन सकेनन् । ओपनर जितेन्दर सिँहले १८ र जय ओडेड्रले २५ बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अँक समेत जोडन सकेनन् ।
ओमनले १२ औँ ओभरमा आइपुग्दा ६ विकेट गुमाएपछि निकै दवावमा परेको थियो । उसले निर्धारित ओभरको ४० ओभर खेल्दै सबै विकेट गुमाएर मात्र १ सय ५० रन बटुल्न सक्यो । ओमनलाइ सस्तैमा धराशायी बनाउने क्रममा नन्दन यादव र सन्दिप लामिछानेले समान ३–३ विकेट लिए यस्तै दिपेन्द्र सिँह ऐरीले २ तथा ललित राजवँशीले र करन के.सी ले समान १–१ खेलाडीलाई पवेलियनको बाटो देखाएका थिए ।
अन्तिम लिगको सुरुवाती २ खेलमा जित निकालेको नेपालले एकदिवसिय मान्यता जोगाउन बाँकी रहेको २ मध्ये कम्तिमा १ खेल जित्नैपर्ने दवावमा रहेको छ । यदि नेपालले बाँकी खेलमा पराजित भएमा छैटौँ स्थान कायम राख्न अरु टिमको नतिजामा भर पर्नुपर्ने बाध्यता रहेको छ ।
लिगको शिर्षमा रहेका अमेरिका, स्कटल्याण्ड, नेदरल्याण्डस र ओमन सुरक्षित छन । पाँचौ स्थानमा रहेको नामिविया कुल ३५ खेलबाट ३१ अँकका साथ रहेको छ, उसले १ खेल खेल्न बाँकी छ । यस्तै छैटौँ स्थानमा रहेको नेपाल ३४ खेलबाट २८ अँक बटुलेको छ । उसले २ खेल खेल्न बाँकी छ भने ३४ खेलबाट २५ अँक बटुलेको क्यानाडा सातौँ र ३२ खेलबाट १९ अँक जोडेको युएइ आठौँ स्थानमा रहेको छ । नेपालले अन्तिम लिगको तेश्रो खेलमा शनिबार क्यानाडासँग प्रतिष्प्रर्धा गर्ने छ ।





















