काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती प्रदेशका केही स्थान तथा कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै, देशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।






















