Spread the love

काठमाडौं । फिफा विश्वकप फुटबलको अन्तिम ३२ अन्तर्गत शुक्रबार बिहान हुने बहुप्रतीक्षित खेलमा पोर्चुगल र क्रोएसिया आमनेसामने हुँदैछन् । टोरन्टो रंगशालामा नेपाली समयअनुसार बिहान ४ः४५ बजे सुरु हुने खेलमा दुवै टोली क्वार्टरफाइनल यात्रालाई निरन्तरता दिने लक्ष्यसहित मैदान उत्रिनेछन् । पोर्चुगलको सबैभन्दा ठूलो भरोसा कप्तान क्रिस्टियानो रोनाल्डोमाथि रहनेछ । ४१ वर्षीय रोनाल्डोले समूह चरणमा उज्बेकिस्तानविरुद्ध दुई गोल गरे पनि बाँकी दुई खेलमा गोल गर्न सकेनन् ।

अझ विश्वकपको नकआउट चरणमा उनले अहिलेसम्म गोलको खाता खोल्न नसकेको तथ्य यस खेलको प्रमुख चर्चाको विषय बनेको छ । यदि रोनाल्डोले क्रोएसियाविरुद्ध मैदान उत्रिए भने यो उनको विश्वकप नकआउट चरणको नवौं खेल हुनेछ । यसअघि आठ खेलमा २९ पटक प्रहार गर्दा पनि गोल गर्न नसकेका उनी विश्वकप नकआउटमा गोलबिनै सबैभन्दा धेरै प्रहार गर्ने खेलाडीको कीर्तिमानमा ब्राजिलका रोबर्टो कार्लोससँग बराबरीमा छन् । प्रशिक्षक रोबर्टो मार्टिनेजको टोली समूह ‘के’ मा दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो । पोर्चुगल प्रतियोगितामा अझै अपराजित छ । समूह चरणमा टोलीले उज्बेकिस्तानलाई ५–० ले पराजित गरेको थियो भने कङ्गो लोकतान्त्रिक गणतन्त्रसँग १–१ र कोलम्बियासँग गोलरहित बराबरी खेलेको थियो । बल नियन्त्रण र पासिङमा पोर्चुगल यस संस्करणको सबैभन्दा प्रभावशाली टोलीमध्ये एक बनेको छ ।

समूह चरणमा एक हजार ६९० सफल पास पूरा गर्दै टोलीले विश्वकप इतिहासकै नयाँ कीर्तिमान बनाएको छ । औसत ६२.५ प्रतिशत बल नियन्त्रण राखे पनि गोल गर्ने अवसरलाई सदुपयोग गर्न भने टोली संघर्षरत देखिएको छ । मध्यपङ्क्तिमा भिटिन्हाको प्रदर्शन पोर्चुगलका लागि सकारात्मक पक्ष बनेको छ । उनले समूह चरणमा २७० सफल पास पूरा गर्दै विश्वकप समूह चरणमा कुनै पनि पोर्चुगिज खेलाडीले गरेको सबैभन्दा धेरै पासको कीर्तिमान बनाएका छन् ।

यता क्रोएसियाले भने कमजोर सुरुआतपछि प्रभावशाली पुनरागमन गरेको छ । पहिलो खेलमा इङ्गल्यान्डसँग ४–२ ले पराजित भएको टोलीले त्यसपछि पानामालाई १–० र घानालाई २–१ ले हराउँदै समूह ‘एल’ को उपविजेताका रूपमा अन्तिम ३२ मा स्थान सुरक्षित गरेको हो । प्रशिक्षक ज्लाट्को डालिचको टोली लगातार चौथोपटक विश्वकपको नकआउट चरणमा पुगेको छ । सन् १९९८, २०१८ र २०२२ मा पहिलो नकआउट खेल जित्दै अगाडि बढेको क्रोएसिया यसपटक पनि त्यही इतिहास दोहो¥याउने लक्ष्यमा छ ।

अनुभवी कप्तान लुका मोड्रिचका लागि पनि यो खेल विशेष हुनेछ । उनले मैदान उत्रिए विश्वकपमा उनको २३ औँ खेल हुनेछ, जससँगै उनी पाओलो माल्दिनी र मानुएल नोयरसँग संयुक्त रूपमा विश्वकपमा पाँचौं धेरै खेल खेल्ने खेलाडी बन्नेछन् ।
दुवै टोलीबीचको विगतको तथ्याङ्क भने पोर्चुगलको पक्षमा छ । हालसम्म भएका १० भेटमा पोर्चुगलले सात जित निकालेको छ भने दुई खेल बराबरीमा सकिएका छन् । क्रोएसियाले केवल एक खेल मात्र जितेको छ । प्रतिस्पर्धात्मक खेलमा पनि पोर्चुगलले छ भेटमध्ये पाँच जित र एक बराबरीको नतिजा निकालेको छ । एकातिर रोनाल्डो आफ्नो नकआउट गोलको प्रतीक्षा अन्त्य गर्न चाहन्छन् भने अर्कोतर्फ मोड्रिचको अनुभवका भरमा क्रोएसिया अर्को अपसेटको खोजीमा हुनेछ। त्यसैले दुई युरोपेली शक्तिबीचको यो प्रतिस्पर्धा अन्तिम ३२ कै सबैभन्दा रोमाञ्चक भिडन्तमध्ये एक हुने अपेक्षा गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्