बुटवल, २६ वैशाख ।
बुटवलको एक नीजि स्वास्थ्यप्रदायक संस्थाले स्वास्थ्य सचेतना जगाउने उदेश्यका साथ वृहत स्वास्थ्य शिविर गरेको छ । नियोन मल्टी स्पेसियलिटी सेन्टर प्रालिको सहयोगमा गैंडहवा गाउँपालिकाको कार्यालयको आयोजनामा शनिबार विष्णुपुरामा वृहत विशेषज्ञसहितको निशुल्क स्वास्थ्य जाँच तथा उपचार शिविर गरेको हो ।
सामाजिक उत्तरदायित्व अन्तरगत संस्थाबाट शिविर आयोजना गरिएको प्रालिका संचालक महेश पौडेलले बताए । श्री जोगडा माध्यमिक विद्यालय गैडहवामा आयोजना गरिएको शिविरमा ८ सय बढी बिरामीहरुको स्वास्थ्य परिक्षण, औषधी वितरण तथा परामर्श दिईएको उनको दाबी छ ।
शिविरमा जनरल फिजिसियन सेवा, हाडजोर्नी तथा नसारोग विशेषज्ञ सेवा, मधुमेह (सुगर) जाँच, मानसिक तथा नसारोग सेवा, मुटुरोग तथा ईसिजि जाँच, भिडियो एक्स–रे (अल्ट्रासाउण्ड), छाला रोग जाँच, साथै स्त्री तथा महिला रोग सम्बन्धी जाँच र महिलाको पाठेघर स्क्रिनिङ सेवा प्रदान गरियो ।
शिविरमा हार्डजोर्नी तथ नशा रोग विशेषज्ञ डा आलोक थैव, डा सम्राट पराजुली, महिला तथा प्रसूती रोग विशेषज्ञ डा रुकमणी शर्मा, जनरल सर्जन डा नविन श्रेष्ठ, नशा तथा मनोरोग विशेषज्ञ डा सजिता पौडेल, ईन्टरनल मेडिसिन डा नियम खान, रेडियोलोजिस्ट डा बिकाश शर्मा, मेडिकल अफिसर डा बिनिता ज्ञवाली, डा मनिश पराजुलीसहितको टिमले सेवा दिएका थिए ।
अर्थोपेडिक तथा आर्थोस्कोपिक सर्जन डा आलोक थैवले रुपन्देहीको विकट मानिने सो क्षेत्रमा अझै पनि स्वास्थ्य सचेतना न्यून भेटिएको उनले बताए । स्वास्थ्य प्रति सचेतना जगाउन शिविर प्रभावकारी भएको भन्दै कुनै स्वास्थ्य समस्या देखिएमा पहिलो चरणमा नै उपचार गर्न अस्पताल पुग्न जरुरी हुने बारेमा स्थानियहरुमा चेतना फैलाउने गरि लाग्न जरुरी रहेको उनले बताए । शिविरमा उपचारमा आएको महिलामा पाठेघरको समस्या र हातखुट्टा घोड़ा दुख्ने विरामीको संख्या अत्याधिक रहेको उनले बताए । बिरामीहरुलाई थप उपचारका लागि आवश्यक पहल गरिएको छ ।
एक समारोहका बिच गाउपालिका अध्यक्ष सुरेन्द्र पौडयाल, उपाध्यक्ष माधुरी जैसवाल, वडा अध्यक्ष सुरेन्द्र सिह कुर्मी, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले शिविरको औपचारिक उद्घाटन गर्दै स्वास्थ्यको पहुचबाट टाढा रहेको जनताहरुलाई सेवा दिने गरि आगामी दिनमा पनि सहकार्य गर्न आफुहरु तयार रहेको बताए ।





















