बाँके १५ कार्तिक ।
बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आइतबार बिहान आगलागी भएको छ । आगलागी परि आठ जना घाइते भएका छन । घाइते मध्य दुई जनालाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आइतबार बिहान कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत् सर्ट सर्किट भई अचानक आगलागी भएको हो । आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर केसीको कमान्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिकाका दुईवटा र कोहलपुर नगरपालिकाको एउटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा बिहान ८ः१५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको भौतिक तथा अन्य क्षतिको विस्तृत विवरण खुल्न बाँकी रहेको छ।



















