काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा १२ करोड रुपैयाँभन्दा बढीको गैरकानुनी आर्थिक लाभ लिएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार संस्थानका तत्कालीन महाप्रबन्धक, उच्च तहका अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीहरूको मिलेमतोमा संस्थानलाई आर्थिक हानि पु¥याई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ गैरकानुनी लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उक्त प्रकरणमा संलग्न रहेको आरोपमा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको आपराधिक विश्वासघातसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिएर २०८३ कात्तिक १३ गते विभिन्न स्थानबाट आठ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा डीडीसीका तत्कालीन महाप्रबन्धक सञ्जीव झा रहेका छन् ।
हाल संस्थानको लैनचौरस्थित प्रशासन तथा व्यवस्थापन विभाग प्रमुखका रूपमा कार्यरत झालाई काठमाडौंको लैनचौरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, तत्कालीन सिम्ले चिस्यान केन्द्रका इन्चार्ज विजयकुमार यादवलाई काठमाडौंको बालाजुबाट पक्राउ गरिएको छ । यसैगरी, तत्कालीन भक्तपुर चिस्यान केन्द्रका इन्चार्ज मनहरी शर्मालाई कास्कीको पोखराबाट पक्राउ गरिएको छ । तत्कालीन चनौली चिस्यान केन्द्रका इन्चार्ज रामकेवल रायलाई सर्लाहीको चन्द्रनगर गाउँपालिका–५, मोहनपुरबाट पक्राउ गरिएको छ । उनी हाल काठमाडौं दुग्ध वितरण आयोजनाको सङ्कलन केन्द्रमा जुनियर टेक्निकल असिस्टेन्टका रूपमा कार्यरत छन् ।
त्यसैगरी, हेटौंडास्थित बागमती धुलो दूध कारखानामा भरपाई पदमा कार्यरत जितेन्द्रकुमार यादवलाई चितवनको भरतपुरबाट पक्राउ गरिएको छ । नवलपुर/गरुडा चिस्यान केन्द्रसँग सम्बन्धित डेरी ब्वाई पदमा कार्यरत नवीन राय यादवलाई सर्लाहीको लालबन्दीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । माडी चिस्यान केन्द्रमा दैनिक पारिश्रमिकमा कार्यरत शिवनन्दन रायलाई चितवनको माडी नगरपालिका–१, भरुवाबाट पक्राउ गरिएको छ । सोही स्थानबाट माडी चिस्यान केन्द्रका इन्चार्ज तथा जुनियर टेक्निकल असिस्टेन्ट विखबहादुर भण्डारीलाई पनि पक्राउ गरिएको छ । प्रहरीका अनुसार संस्थानका तत्कालीन पदाधिकारी तथा कर्मचारीहरूले पूर्वयोजना र आपसी मिलेमतोमा विभिन्न समूह खडा गरी संगठित रूपमा आर्थिक अनियमितता गरेको आरोप छ ।



















