गोरखा । गृहमन्त्री सुधन गुरुङले गोरखाका समस्या समाधान र जिल्लाको विकासका लागि परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीसँग आयोजित अन्तरक्रियामा गृहमन्त्री गुरुङले जिल्लावासीका समस्या र अपेक्षालाई गम्भीरतापूर्वक लिँदै समाधानका लागि आवश्यक पहल गर्ने बताएका हुन्।
अन्तरक्रियामा सहभागीहरूले गोरखाको पूर्वाधार विकास, कृषि उत्पादनको बजारीकरण, पर्यटन प्रवद्र्धन तथा उद्योग–व्यवसाय सञ्चालनमा देखिएका समस्याबारे गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए। सहभागीहरूले पर्यटकीय सम्भावना हुँदाहुँदै पनि गोरखाको पर्यटन क्षेत्रले अपेक्षित गति लिन नसकेको गुनासो गर्दै आवश्यक पूर्वाधार निर्माण र पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।
त्यस्तै, कृषि उत्पादनले उचित बजार र मूल्य नपाउँदा किसानहरू समस्यामा परेको विषय पनि उठाइएको थियो। नेपाली किसानले उत्पादन गरेका कृषि उपजले बजारमा प्राथमिकता पाउनुपर्ने र स्थानीय उत्पादनको बजारीकरणका लागि सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने सहभागीहरूको माग थियो।
उद्योगी तथा व्यवसायीहरूले जिल्लामा उद्योग–व्यवसाय सञ्चालनका क्रममा देखिएका चुनौती समाधान गरी लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने धारणा राखेका थिए। स्थानीय स्रोतसाधनको सदुपयोग, आर्थिक गतिविधिको विस्तार र रोजगारी सिर्जनाका लागि सरकारको सक्रियता आवश्यक रहेको उनीहरूको भनाइ थियो।
सहभागीहरूका गुनासा र सुझाव सुनेपछि गृहमन्त्री गुरुङले आफू सरकारमा आएको छ महिना मात्रै भएको उल्लेख गर्दै गोरखाका समस्या समाधान गर्न काम गर्ने प्रतिबद्धता जनाए। गोरखाकै कारण आफू गृहमन्त्री बन्ने अवसर पाएको स्मरण गर्दै उनले जिल्लावासीका अपेक्षालाई बेवास्ता नगर्ने बताए।
यसैबीच, केही साताअघि बुढीगण्डकीमा आएको बाढीले बगाएको पुलको पुनर्निर्माण प्रक्रिया अघि बढाइएको विषयलाई लिएर सहभागीहरूले गृहमन्त्री गुरुङलाई धन्यवाद दिएका थिए। बाढीका कारण प्रभावित आवागमन सहज बनाउन गरिएको पहलप्रति उनीहरूले सकारात्मक प्रतिक्रिया जनाएका हुन्।
अन्तरक्रियामा सहभागीहरूले गोरखाको विकासका लागि भाषण र आश्वासनभन्दा परिणाम देखिने काम आवश्यक रहेको बताएका थिए। पूर्वाधार निर्माण, कृषि क्षेत्रको सुधार, पर्यटन प्रवद्र्धन र उद्योग–व्यवसायको विकासमा प्रभावकारी पहल हुने अपेक्षा राख्दै उनीहरूले गृहमन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए।





















