काठमाडौँ । सरकारले नेपाललाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने उद्देश्यसहित चिकित्सा सेवा पर्यटन (मेडिकल सर्भिस टुरिजम) प्रवद्र्धनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको बैठकले चिकित्सा सेवा पर्यटनको विकास र प्रवद्र्धनका लागि कार्यदल गठन गरी आवश्यक काम अघि बढाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा बसेको बैठकमा सम्बन्धित मन्त्रालयका सचिव, निजी अस्पतालका सञ्चालक तथा प्रतिनिधिहरू सहभागी थिए । बैठकमा गुणस्तरीय र सुलभ उपचार सेवा लिन नेपाल आउने विदेशी बिरामीका लागि चिकित्सा सेवा पर्यटनलाई व्यवस्थित र प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । यसका लागि आवश्यक नियमनकारी संरचना निर्माण गर्ने, अस्पतालको गुणस्तर र बिरामी सुरक्षासम्बन्धी मापदण्ड निर्धारण गर्ने तथा विदेशी बिरामी र उनीहरूका सहयोगीका लागि मेडिकल भिसाको व्यवस्था गर्ने विषयलाई प्राथमिकताका साथ अघि बढाउनेबारे छलफल भएको जनाइएको छ ।
चिकित्सा सेवा पर्यटनको प्रवद्र्धनले नेपालमा विदेशी मुद्रा आर्जन बढाउनुका साथै स्वास्थ्य क्षेत्रको विकासमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ । विदेशी बिरामीलाई नेपालमै गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन सके नेपाली नागरिक उपचारका लागि विदेश जानुपर्ने बाध्यता घटाउन र देशभित्रै विशेषज्ञ स्वास्थ्य सेवाको विस्तार गर्न पनि सहयोग पुग्ने विश्वास सरकारको छ ।
नेपाललाई चिकित्सा सेवा पर्यटनको भरपर्दो क्षेत्रीय गन्तव्यका रूपमा स्थापित गर्न आवश्यक नीतिगत, नियामकीय तथा संस्थागत सुधारलाई प्राथमिकतामा राखिएको जनाइएको छ । कार्यदल गठनपछि चिकित्सा सेवा पर्यटनको सम्भावना, आवश्यक पूर्वाधार, सेवा गुणस्तर र अन्तर्राष्ट्रिय बजारमा नेपालको पहिचान विस्तार गर्ने विषयमा थप काम अघि बढ्ने अपेक्षा गरिएको छ ।



















