Spread the love

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलसँग भारतीय अभिनेत्री शबाना आजमी र जापानी चलचित्र निर्देशक ताकायुकी नाकामुराले भेट गरेका छन् । काठमाडौँ महानगरपालिकाको निमन्त्रणामा ‘काठमाडौँ फिल्म फेस्टिभल’मा सहभागी हुन आएका अभिनेत्री आजमी र निर्देशक नाकामुराले शुक्रबार कार्यवाहक प्रमुख डंगोलसँग भेट गर्दै चलचित्र महोत्सवको उद्देश्य, निरन्तरता र समुदायसँगको सम्बन्धबारे छलफल गरेका हुन् ।

भेटका क्रममा कार्यवाहक प्रमुख डंगोलले काठमाडौँको परम्परागत कथा वाचन संस्कृतिलाई युवा पुस्ता, चलचित्र र प्रविधिसँग जोड्ने उद्देश्यले फिल्म फेस्टिभल आयोजना गरिएको बताइन् । उनले डवलीमा देखाइने नाटक, देव नृत्य, फल्चामा गाइने दाफा तथा परिवारमा ज्येष्ठ सदस्यले सुनाउने लोककथा, दन्त्यकथा र पौराणिक कथालाई काठमाडौँको मौलिक कथा वाचन परम्पराका रूपमा व्याख्या गरिन् ।

आधुनिकतासँगै यस्ता परम्परामा कमी आउन थालेपछि तिनको संरक्षण र प्रवद्र्धन गर्दै नयाँ पुस्तालाई चलचित्रका माध्यमबाट कथा सुनाउने संस्कृतिसँग जोड्न महोत्सव सुरु गरिएको उनले बताइन् । ‘यात्रा थालेका छौँ । यो सुरुवात हो । सुधार गर्दै निरन्तर अगाडि बढ्ने योजनामा छौँ,’ डंगोलले भनिन् ।

भेटका क्रममा अभिनेत्री आजमीले घरमा सीमित दर्शकलाई टोल र चोकसम्म ल्याएर चलचित्रप्रति रुचि जगाउनु काठमाडौँ महानगरपालिकाले यसअघि सञ्चालन गरेको टोलटोलमा फिल्म महोत्सवको महत्त्वपूर्ण उपलब्धि भएको बताइन् ।

अब समुदायलाई आफ्नै र आफ्नो समाजका रोचक कथाहरू पहिचान गर्न तथा तिनलाई सुन्ने र सुनाउने सीप विकास गर्न प्रोत्साहित गर्नुपर्ने उनको भनाइ थियो । यसले चलचित्र उद्योगको विकासमा समेत सहयोग पुग्ने उनले बताइन् ।

समुदायका वास्तविक र रोचक कथाहरू चलचित्र निर्माणका लागि राजनीतिक विषयभन्दा पनि आकर्षक हुन सक्ने अभिनेत्री आजमीले धारणा राखिन् ।

जापानी निर्देशक ताकायुकी नाकामुराले यामागाता सहरले युनेस्कोको क्रियटिभ सिटिज नेटवर्कमा आबद्ध सहरहरूबीच भिडियोमार्फत पहिचान, संस्कार, संस्कृति र परम्पराको आदानप्रदान गर्दै आएको जानकारी दिए । भेटमा महानगरपालिकाका अधिकारी, फिल्म फेस्टिभलका निर्देशक तथा क्युरेटरहरूको सहभागिता थियो । कात्तिक १३ गतेदेखि सुरु भएको काठमाडौँ फिल्म फेस्टिभल विभिन्न कार्यक्रमसहित कात्तिक १५ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्