Spread the love

काठमाडौ ।
सरकारी ठेक्कापट्टालाई पारदर्शी बनाउन प्रयोग गरिँदै आएको ई–गभर्नमेन्ट प्रोक्युरमेन्ट प्रणालीमा अनाधिकृत पहुँच पु¥याई बोलपत्र (टेन्डर) फेरबदल गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो, भोटाहिटीका अनुसार पक्राउ परेका व्यक्तिहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणाली ह्याक गरी विभिन्न ठेक्काका गोप्य विवरणहरू हेर्ने र बोलपत्रको आर्थिक प्रस्ताव खोल्नु अगावै डकुमेन्ट परिमार्जन गर्ने जस्ता गम्भीर अपराधमा संलग्न थिए ।

राज्यका अर्बौँ रुपैयाँका सार्वजनिक खरिद र निर्माणसम्बन्धी बोलपत्रहरूलाई निष्पक्ष बनाउन सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय सरकारी खरिद प्रणाली सञ्चालन गर्दै आएको छ । प्रणालीमा शंकास्पद गतिविधि देखिएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले दिएको निवेदनका आधारमा साइबर ब्युरोको विशेष प्राविधिक टोलीले अनुसन्धान थालेको थियो । गिरोहले प्राविधिक लुपहोलको फाइदा उठाई प्रणालीभित्र अवैध रूपमा प्रवेश गरेको अनुसन्धानबाट खुलेको छ ।

उनीहरूले अन्य प्रतिस्पर्धी कम्पनीहरूको गोप्य आर्थिक प्रस्तावहरू हेर्ने र निश्चित निर्माण व्यवसायीहरूलाई फाइदा पुग्ने गरी दरभाउ र कागजातहरू प्रणालीभित्रै छिरेर हेरफेर (अल्टर) गर्ने गरेको साइबर ब्युरोको प्राविधिक अनुसन्धान र विश्लेषणबाट पुष्टि भएको साइबर ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिपक राज अवस्थीले बताए । काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूबाट नियन्त्रणमा लिएको आठ जना विरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्