Spread the love

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधिवेशनअन्तर्गत असोज २६ गते निर्वाचन हुने भएको छ । निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै मतदान बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म हुने जनाएको छ ।

प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेका अनुसार निर्वाचनका लागि असोज १५ गते प्रारम्भिक मतदाता नामावली प्रकाशन भइसकेको छ । मतदाता नामावलीमाथि दाबी–विरोधका लागि असोज २१ गते दिउँसो ३ बजेसम्मको समय तोकिएको छ । सोही दिन दिउँसो साढे ३ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

निर्वाचन कार्यतालिकाअनुसार असोज २३ गते साधारण सभाको दिन साँझ ५ बजेदेखि ६ बजेसम्म मनोनयनपत्र वितरण तथा ६ बजेदेखि ७ बजेसम्म मनोनयनपत्र दाखिला गरिनेछ । सोही दिन साँझ ८ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुनेछ ।

असोज २४ गते बिहान ८ देखि ९ बजेसम्म उम्मेदवारमाथि दाबी–विरोध गर्न सकिनेछ भने बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने निर्वाचन समितिले जनाएको छ । सोही दिन बिहान साढे ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

एक पदमा एकभन्दा बढी उम्मेदवारी परेमा उम्मेदवारको अन्तिम नामावली तथा मतपत्रमा उम्मेदवारको नाम अंग्रेजी अल्फाबेटअनुसार राखिने समितिले जनाएको छ । विशेष परिस्थितिमा निर्वाचन कार्यतालिका संशोधन गर्न सकिने पनि समितिले स्पष्ट पारेको छ ।

संघको आगामी कार्यकालका लागि अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव र सहकोषाध्यक्ष पदमा निर्वाचन हुनेछ ।

त्यस्तै कार्यसमिति सदस्यतर्फ उद्योगबाट ४, वाणिज्यबाट ४, महिलाबाट २ र खुलाबाट ७ गरी १७ जना निर्वाचित हुने वैधानिक व्यवस्था छ ।

निर्वाचन समितिले उम्मेदवारी शुल्कसमेत निर्धारण गरेको छ । अध्यक्ष पदका लागि १ लाख रुपैयाँ, अन्य पदाधिकारीका लागि ५० हजार रुपैयाँ, एसोसिएट सदस्य पदका लागि ४० हजार रुपैयाँ र सदस्य पदका लागि २५ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको प्रमुख निर्वाचन अधिकृत पाण्डेले जानकारी दिए । उम्मेदवारी शुल्क फिर्ता नहुने व्यवस्था गरिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्