Spread the love

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई संवेदनशील सूचना चुहावट तथा पदीय आचरणविपरीत कार्य गरेको आरोपमा निलम्बन गरेको छ । सोमबार जारी गरेको विज्ञप्तिअनुसार सशस्त्र प्रहरी बल, नेपालबाट दाहालमाथि कारबाही गर्न सिफारिस प्राप्त भएपछि आरोपबारे छानबिन अघि बढाइएको हो ।

मन्त्रालयको निर्णयअनुसार दाहाललाई निलम्बन गरी उनीमाथि लागेको आरोप तथा पदीय आचरणसम्बन्धी विषयमा जाँचबुझ गर्न अधिकृत तोकिएको छ । जाँचबुझ अधिकृतले तीन दिनभित्र छानबिन सम्पन्न गरी गृह मन्त्रालयमा प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था गरिएको छ । दाहालमाथि सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरेको तथा पदीय आचरणविपरीत कार्य गरेको आरोपमा कारबाहीको सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले शान्ति, सुरक्षा तथा राज्यका संवेदनशील सूचनाको संरक्षणलाई प्राथमिकतामा राख्दै मन्त्रालय मातहतका कर्मचारीबाट हुने पदीय आचरणविपरीतका कार्य, गोप्य सूचनाको चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्न सक्ने गतिविधिमाथि निगरानी र विश्लेषण भइरहेको जनाएको छ । दाहालमाथि लागेको आरोपको अन्तिम टुंगो भने जाँचबुझ समितिको प्रतिवेदन र त्यसका आधारमा अघि बढ्ने कानुनी प्रक्रियापछि लाग्नेछ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्