Spread the love

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित एक घरबाट सुनका गरगहना, ल्यापटप र नगद चोरी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार गत असोज १८ गते बिहान करिब १० बजे घरमा कोही नभएको मौका छोपी चोरी भएको थियो। चोरीमा संलग्न व्यक्तिहरूको खोजतलास तथा अनुसन्धानका क्रममा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार चोरीमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा राजन स्याङ्बो, रिया कार्की, प्रकाश कुँडुला, रोमन श्रेष्ठ र जितबहादुर विश्वकर्मा रहेका छन्। उनीहरू काठमाडौंका विभिन्न स्थानमा बसोबास गर्दै आएका थिए।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट सुनका तिलहरी, सिक्री, बाला, औँठी, झुम्का, गणेश लकेटलगायतका गरगहना, चाँदीका औँठी, डेल कम्पनीको ल्यापटप, विभिन्न कम्पनीका तीन थान मोबाइल फोन, फलामका औजार र नगद बरामद गरेको जनाएको छ।

बरामद गरिएका सामग्रीमध्ये सुनका गरगहनाको कुल तौल ६ तोला ८९ लाल रहेको प्रहरीले जनाएको छ। त्यस्तै, नगद दुई लाख ७० हजार रुपैयाँसमेत बरामद गरिएको छ।

पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त थिमी, भक्तपुर पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्