Spread the love

मणिग्राम, २४ असोज ।

राममणि बहुमुखी क्याम्पसले विद्यार्थीको शैक्षिक क्षमता, व्यावसायिक दक्षता तथा सिर्जनात्मक प्रतिभा अभिवृद्धि गर्ने उद्देश्यले तीनवटा छुट्टाछुट्टै कार्यक्रम सम्पन्न गरेको छ । क्याम्पसले शिक्षक सेवा आयोगको तयारीसम्बन्धी अभिमुखीकरण, स्नातक तह उत्तीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना र भिडियो सामग्री निर्माण प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको हो ।

क्याम्पसको विद्यार्थी परामर्श तथा रोजगार समितिको आयोजनामा बी.एड. तहका विद्यार्थीलाई लक्षित गरी शिक्षक सेवा आयोगको तयारीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । समितिका संयोजक भीमलाल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय, सिद्धार्थनगरका एकाइ प्रमुख हरि बिष्टले प्रशिक्षण दिए ।
कार्यक्रममा क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले विद्यार्थीलाई शैक्षिक ज्ञानमा मात्र सीमित नराखी प्रतिस्पर्धात्मक परीक्षाको तयारी र व्यावसायिक जीवनका लागि समेत सक्षम बनाउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए । कार्यक्रममा सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डे, शिक्षा तथा मानविकी संकाय प्रमुख लक्ष्मण खरेल तथा प्राध्यापकहरू नारायणप्रसाद भुसाल, मधुसुदन खनाल, जीवनकुमार पौडेल, कविता पन्थी, वेदप्रसाद न्यौपाने र कुलबहादुर क्षेत्रीलगायतको उपस्थिति थियो ।

यसैगरी, क्याम्पसले स्नातक तहको चौथो वर्ष उत्तीर्ण गरेका विद्यार्थीलाई बधाई तथा शुभकामना प्रदान गरेको छ । कार्यक्रममा क्याम्पस प्रमुख पराजुलीले उत्तीर्ण विद्यार्थीलाई आगामी शैक्षिक तथा व्यावसायिक यात्राका लागि शुभकामना दिँदै उनीहरूलाई थप अध्ययन तथा अध्यापनका अवसर प्रदान गर्न क्याम्पस तयार रहेको बताए ।

कार्यक्रममा सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डे, व्यवस्थापन संकाय प्रमुख राजेन्द्र थापामगर तथा प्राध्यापकहरू कृष्णकुमार रेग्मी र मधुसुदन खनाललगायतले विद्यार्थीलाई बधाई दिँदै उज्ज्वल भविष्यको कामना गरेका थिए ।

यसैबीच, क्याम्पसद्वारा आयोजित भिडियो सामग्री निर्माण प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा सुजन सुवेदी प्रथम हुँदै पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । नवीन गौतम र सुमित अग्रहरीको संयुक्त सामग्री दोस्रो हुँदै तीन हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन । प्रतियोगितामा समीर सुवेदी, सुजाता पन्थी र आराधना भण्डारी तेस्रो हुँदै जनही दुई हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । विद्यार्थीको शैक्षिक ज्ञान, रोजगारसम्बन्धी तयारी र सिर्जनात्मक सीपलाई एकसाथ अघि बढाउने उद्देश्यले कार्यक्रम गरिएको हो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्