काठमाडौं, १७ असोज । काठमाडौंमा म्याद गुज्रिएका तथा गुणस्तरहीन खाद्य सामग्रीमा नयाँ मिति र लेबल लगाएर बिक्री वितरण गर्ने तयारी गरेको आरोपमा एक समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चन्द्रागिरी नगरपालिका–९ स्थित सिद्धि विनायक खाद्य स्टोरमा म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति राखेर बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरी र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले अनुगमन गरेको थियो ।
पक्राउ पर्नेहरुमा बारा जिल्ला घर भई हाल काठमाण्डौ बस्ने ४० वर्षका बिजेन्द्र शाह, तिन थानाका ४९ वर्षका अखिलेस प्रसाद कलवाल रहेका छन । अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति राख्ने मेसिन, विभिन्न खाद्य सामग्रीमा टाँस्ने लेबल तथा स्टिकरसहित अन्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मकवानपुरी राजमा, अबिर/केशरी, ब्राजिलियन पपकर्न, स्थानीय खैरो तिल, ओखर र केराउ लगायतका खाद्य सामग्रीमा नयाँ लेबल लगाउने तयारी गरिएको पाइएको थियो । यस्तै, म्याद गुज्रिएको काजु, बदाम, पेस्ता, एलमण्ड, कालो भटमास, मकै तथा हात्ती केराउ लगायतका खाद्य सामग्रीसमेत फेला परेको छ । टोलीले मिति उल्लेख गर्ने मेसिन, बोरा सिलाउने मेसिन, ल्यापटप र प्रिन्टरसमेत बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।




















