काठमाडौ, १५ असोज ।
रुपन्देहीबाट एक किलो सुनसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सिद्धार्थनगर नगरपालिका–१ शान्ति गेटबाट बुधबार राति एक किलोग्राम सुनका गरगहना सहित महिलालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौ महानगरपालिका–१९ बस्ने ४६ वर्षीया इला पटेल रहेको डीएसपी थापाले जानकारी दिए । भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म डण्डाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
पक्राउपछि गरगहना सिद्धार्थनगर सुनचाँदी व्यवसायीले परीक्षण गर्दा १ किलोग्राम देखिएको डीएसपी थापाले जानकारी दिए । पक्राउपछि उनलाई बरामद सुनसहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाइएको छ । बरामद सुनको मूल्य २ करोड ५१ लाख ९३ हजार ३५० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।




















