बुटवल, १० असोज । क्रिमसन कलेज अफ टेक्नोलोजी (सीसीटी) मा अनुसन्धान लेखन तथा डिजिटल प्रविधिको प्रयोगसम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कलेजको अनुसन्धान व्यवस्थापन केन्द्र (आरएमसी) को आयोजनामा ‘रिसर्च इन द डिजिटल एरा : आईटी टुल्स, रिसर्च राइटिङ एन्ड स्कलर्ली कम्युनिकेसन’ विषयमा प्रशिक्षण सञ्चालन गरिएको हो ।
कलेजको सेमिनार हलमा भएको कार्यक्रममा डा. तिलक भुसालले अनुसन्धान लेखन, वैज्ञानिक प्रकाशन तथा शैक्षिक सञ्चारसम्बन्धी प्रशिक्षण दिएका थिए । यसैगरि सञ्जीव थापाले सन्दर्भ व्यवस्थापन, लाटेक्स तथा अनुसन्धानमा प्रयोग हुने डिजिटल उपकरणबारे प्रशिक्षण दिएका थिए । प्रशिक्षणका क्रममा सहभागीले डिजिटल उपकरणको प्रयोग, अनुसन्धान सामग्री व्यवस्थापन तथा लेखन प्रक्रियाबारे अभ्याससमेत गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै कलेजका प्राचार्य देवीप्रसाद भण्डारीले कलेजबाट आगामी दिनमा अनुसन्धान तथा शैक्षिक गतिविधिलाई थप तिब्रता दिने बताए । उनले विभिन्न संकायका प्राध्यापक तथा शिक्षकबीच सहकार्य र समन्वय बढाएर अनुसन्धान गतिविधिलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । प्राचार्य भण्डारीले प्राध्यापक तथा शिक्षकको क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राख्दै अनुसन्धान, प्रकाशन तथा अन्य शैक्षिक गतिविधिका लागि आवश्यक सहयोग र सहजीकरण गर्ने बताए । उनका अनुसार आगामी पुसको अन्त्यतिर राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारीसमेत भइरहेको छ । सम्मेलनमा विभिन्न विधा र विषयका अनुसन्धानकर्ता, प्राध्यापक तथा विद्यार्थीलाई सहभागी गराउने योजना रहेको उनले जानकारी दिए ।
कार्यक्रममा अनुसन्धान व्यवस्थापन केन्द्रका प्रमुख रामबहादुर खड्काले अनुसन्धान तथा नवप्रवर्तनलाई संस्थागत रूपमा अघि बढाउन प्राध्यापक तथा शिक्षकबीच सामूहिक प्रयास, सहकार्य र समन्वय आवश्यक रहेको बताए । अनुसन्धान कुनै एक व्यक्ति वा विभागको मात्र जिम्मेवारी नभई संस्थागत प्रयासबाट गुणस्तरीय परिणाम हासिल गर्न सकिने उल्लेख गर्दै खड्काले आगामी दिनमा मिनी रिसर्च कार्यक्रम तथा सीजेओएसटीको दोस्रो भोल्युम प्रकाशन लगायतका अनुसन्धान तथा प्रकाशनसम्बन्धी गतिविधि अघि बढाइने जानकारी दिए । कार्यक्रममा आईटी, व्यवस्थापन तथा स्वास्थ्य विज्ञान संकायका ४२ जना प्राध्यापक तथा शिक्षक सहभागी थिए ।




















