Spread the love

बुटवल, १० असोज ।
बुटवल उपमहानगरपालिका–११, देविनगरस्थित सञ्जीवनी टोल विकास संस्थाको १३औँ/१४औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ । कार्यक्रमको एक समारोहबीच बुटवल उपमहानगरपालिका–११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले अधिवेशनको उद्घाटन गर्दै वडाबासीबीच सम्बन्ध विस्तारसँगै स्थानीय विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न टोल विकास संस्थाको योगदानबारे चर्चा गरे । जनप्रतिनिधिको प्रशंसा गर्नेभन्दा पनि कमीकमजोरी औँल्याउँदै विकास र सामाजिक एकताका लागि सक्रिय हुन सहयोग जरुरी रहने उनले बताए । उनले टोल विकास संस्थाको भवनमा स्वास्थ्य जीवनशैली र सकारात्मक सोच विकास गर्ने उद्देश्यले योगसाधना शिविरलगायतका कार्यक्रम सञ्चालन गर्न पनि आग्रह गरे । उनले टोल विकास संस्था देशकै ठूलो सामाजिक संस्थागत संरचनामध्ये एक भएकाले नेतृत्वमा सक्षम र उत्कृष्ट क्षमता भएका व्यक्तिहरू आउनुपर्ने बताए ।

जनप्रतिनिधिहरू नहकुल शाहीले आफू दुई कार्यकाल जनप्रतिनिधि रहँदा पनि अव्यवस्थित तथा सुकुम्बासी बसोबासीलाई लालपुर्जा उपलब्ध गराउन नसकिएको उल्लेख गर्दै यसको व्यवस्थापनमा तीन तहको सरकार बिच समन्वय नदेखिएको बताए । समाज विकासको आधार मानव र समुदाय भएको उल्लेख गर्दै स्थानीय संघसंस्थाको सक्रियताबाट नै समुदायको विकासलाई अघि बढाउन सकिने बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष हरिबहादुर गहतराजले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आफ्नो कार्यकालमा संस्थाको भवन निर्माणदेखि विभिन्न सामाजिक गतिविधि सञ्चालन गरिएको जानकारी दिए ।

संस्थाका उपाध्यक्ष इन्द्रबहादुर थापाले कार्यालयको आफ्नै भवन नहुँदा कठिनाइ भोग्दै आएको अवस्थामा टोलबासीको सहयोग र श्रमदानबाट भवन निर्माण गर्न सफल भएको बताए । भवनमा अझै केही काम बाँकी रहेकाले त्यसका लागि बजेट व्यवस्थापनमा सहयोग गर्न स्थानीय जनप्रतिनिधिसँग आग्रह गरे ।

संस्थाका सचिव देविका मास्कीले कार्यालय व्यवस्थापन तथा लेखासम्बन्धी तालिम, सामाजिक उत्तरदायित्वअन्तर्गत बृहत् रक्तदान, उद्घोषण तालिम तथा अपाङ्गता भएका र असहाय व्यक्तिहरूलाई सहयोगलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन् ।

देविनगरस्थित नदी उकास क्षेत्रमा करिब साढे दुई कठ्ठा क्षेत्रफलमा टोलबासीको लगानी र श्रमदानमार्फत आफ्नै भवन निर्माण गरेको जनाएको छ । हाल संस्थामा ११२ घरधुरी आबद्ध रहेका छन् । संस्थापक अध्यक्ष सीता विश्वकर्मा हुन् । कोषाध्यक्ष अनिल ठाकुरले संस्थाको वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रादेशिक आयुर्वेदिक औषधालयका प्रतिनिधि विष्णु आचार्य, सञ्जीवनी सामुदायिक संस्थाकी अध्यक्ष चम्पा गहतराज, ज्येष्ठ नागरिक मञ्च, बुटवल–११ का सचिव रामचन्द्र तिवारी, वडाका मेलमिलापकर्ता लक्ष्मण ज्ञवाली, हात्तिटोल विकास संस्थाकी अध्यक्ष राधा अधिकारी, शिवालय टोल विकास संस्थाका अध्यक्ष हिम केसी, निवर्तमान अध्यक्ष देवबहादुर थापा, सल्लाहकार रेवन्त विश्वकर्मा र नरेन्द्रकुमार शर्मा, टंकप्रसाद श्रेष्ठ, रामदास चौधरी, जितकुमारी खत्री, हरि भुषाल, कानुनी सल्लाहकार जानकी बोहरा तथा बाल क्लब बुटवल–११ की अध्यक्ष संस्कृति पाण्डेलगायतले शुभकामना दिए ।
समारोहमा भवन निर्माणमा विशेष आर्थिक सहयोग गर्ने इन्द्रबहादुर थापा तथा भवनको मूल गेट सहयोग गर्ने कृष्णभक्त भट्टलगायतलाई सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट नतिजासहित प्लस टु उत्तीर्ण गर्ने टोल विकास संस्थासँग आबद्ध सुवेच्छा रायमाझी, करिश्मा श्रेष्ठ र इच्छा हिताङलाई नगदसहित सम्मान गरिएको थियो । ज्येष्ठ नागरिक जगतबहादुर रानालाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो ।

भिडियो रिर्पोट

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्