काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहने भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भू–भागमा सरदरभन्दा केही उत्तर अर्थात् नेपाल नजिक तथा पूर्वी भू–भागमा सरदर स्थानको आसपास रहेको छ ।
हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली तथा मधेश प्रदेशमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ । लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भू–भागमा भने आंशिक बदली रहने पूर्वानुमान छ ।
देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका धेरै स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्नेछ ।
कर्णाली प्रदेशको पहाडी भू–भागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । आज राति देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली र तराई भू–भागमा आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ भने तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।























