बुटवल, ८ असार ।
बुटवलमा सम्पन्न जिल्ला स्तरीय अन्तर विद्यालय छात्र/छात्रा फुटसल प्रतियोगिता २०८३ को उपाधि छात्रतर्फ होराईजन जिविएस र छात्रातर्फ गार्गी एकेडेमीले चुमेको छ । स्वर्णिम फुटसल एरिनामा सोमबार भएको फाईनलमा छात्रतर्फ होराईजन जिविएसले प्यारामाउण्ट बोर्डिङ स्कुललाई २–१ तथा छात्रातर्फ गार्मीले नोबल ईन्भाईरोमेन्टलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । उपाधि विजेता टिमले नगद १५ हजार तथा उपविजेता टिमले नगद १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो ।
प्रतियोगितामा छात्रतर्फ सिद्धार्थ बोर्डिङ स्कुल र छात्रातर्फ कुवरवर्ती बोर्डिङ स्कुल तृतिय हुदै नगद ५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । प्रतियोगितामा ब्रिटिश ग्रामणका अरबिन्द्र आले (छात्र), कुवरवर्तीका आरूसी सापकोटा (छात्रा) सर्वाधिक गोलकर्ता घोषित भए । यसैगरि होराईजनका रिजन थापा (छात्र) र गार्गीका दिपिका कार्की (छात्रा) उत्कृष्ट गोलकिपर तथा प्यारामाउण्टका प्रथम गुरुङ (छात्र) र नोबेलका अस्मि दर्लामी (छात्रा) उत्कृष्ट खेलाडी घोषित हुदै पुरस्कृत भए ।
एक समारोहका बिच जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख बिष्णु प्रसाद पन्थी, प्याब्सन प्रदेश अध्यक्ष लालहरि पाण्डे, प्याब्सनका केन्द्रिय सचिवालय सदस्य खेमेन्द्र राना, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, प्याब्सन बुटवल नगरका सचिव भुवन अधिकारी, प्याब्सन जिल्लाका वरिष्ठ उपाध्यक्ष कुलराज शर्मा, सचिव भोजराज गौडेलले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।
कार्यक्रममा प्याब्सन रुपन्देही जिल्ला अध्यक्ष दिपक खनालले शिक्षा र खेलकुदको महत्वबारे प्रकाश पार्दै खेलकुदमा राम्रो गर्ने धेरै खेलाडीहरु पढाईमा समेत अब्बल रहने बताए । प्रतियोगितामा छात्रतर्फ ३४ र छात्रातर्फ १० टिमहरुहरुले प्रतिस्प्रर्धा गरेको संयोजक एनबि क्षेत्रीले बताए ।
भिडियो रिर्पोट





















