बुटवल, २ असार ।
लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले सार्वजनिक कार्यक्रममा निर्माण व्यवसायीप्रति व्यक्त गरेको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष रमेश बेल्बासेले मंगलबार प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई आठ बुदे ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा मन्त्रीको अभिव्यक्तिले निर्माण व्यवसायीहरूको आत्मसम्मानमा चोट पुगेको उल्लेख गर्दै त्यसको सार्वजनिक रूपमा खण्डन गर्न माग गरिएको छ । साथै निर्माण व्यवसायीको सुरक्षा र सम्मानको प्रत्याभूति गर्न सरकारसँग आग्रह गरिएको छ ।
निर्माण व्यवसायीहरू राष्ट्र निर्माणका प्रमुख साझेदार भएको उल्लेख गर्दै सडक, पुल, भवन, खानेपानी, विद्युत् लगायतका पूर्वाधार विकासमा व्यवसायीहरूको महत्वपूर्ण योगदान रहेको जनाएको छ । तर पछिल्लो समय निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धि, कालोबजारी, सामग्री अभाव, बैंक ब्याजदर वृद्धि, श्रमिक अभाव, इन्धन तथा यातायात खर्चमा वृद्धि, समयमै भुक्तानी नपाउने समस्या र सार्वजनिक खरिद प्रक्रियाका जटिलताका कारण निर्माण क्षेत्र गम्भीर संकटमा परेको संघको भनाइ छ ।
ज्ञापनपत्रमार्फत संघले सम्पन्न निर्माण कार्यको भुक्तानी तत्काल उपलब्ध गराउन, मूल्य समायोजनसम्बन्धी व्यवस्था प्रभावकारी बनाउन, निर्माण सामग्रीको सहज आपूर्ति सुनिश्चित गर्न तथा कानुनबमोजिम पाउनुपर्ने मूल्य समायोजन रकम तत्काल उपलब्ध गराउन माग गरेको छ ।
यस्तै, निर्माण क्षेत्रका समस्याको समाधानका लागि सरकार, सरोकारवाला निकाय र निर्माण व्यवसायीबीच उच्चस्तरीय संवादको व्यवस्था गर्न तथा निर्माण क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा स्वीकार गरी सोहीअनुसार नीति तथा कार्यक्रम ल्याउन पनि संघले आग्रह गरेको छ । ज्ञापनपत्रको बोधार्थ सबै इलाका प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई समेत पठाइएको छ ।





















