बुटवल, ७ असार ।
होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीले विद्युत् आपूर्तिमा भइरहेको अनियमितता र पटक–पटकको अवरोधप्रति गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल सुधारको माग गरेको छ । नेपाल विद्युत प्राधिकरणको बुटवल वितरण शाखामा सोमबार संघका पदाधिकारीहरुले छिटोभन्दा छिटो समस्या समाधान गर्न दबाब स्वरुप ज्ञापनपत्र बुझाएको हो ।
संघका अध्यक्ष माधव खनाल, निवर्तमान अध्यक्ष लेखनाथ भण्डारी, वरिष्ठ उपाध्यक्ष अर्जुन थापा, युवराज पराजुली, दामोदर पौडेल, श्रीराम भण्डारीले नेपाल विद्युत प्राधिकारण वितरण शाखा बुटवलका प्रमुख ईन्जिनियर रितेश गुप्तालाई ज्ञापनपत्र बुझाए । पछिल्लो समय अत्यधिक गर्मी बढिरहेका बेला विद्युत् आपूर्ति अनियमित हुँदा होटल तथा रेष्टुरेन्ट व्यवसाय सञ्चालनमा ठूलो समस्या उत्पन्न भएको संघका अध्यक्ष खनालले बताए ।
बारम्बार विद्युत् अवरुद्ध हुने, कम भोल्टेज आउने तथा अनियमित रूपमा लाइन कटौती हुने समस्याले व्यवसाय सञ्चालन प्रभावित भएको भन्दै उनले यसका कारण ग्राहक सेवामा समेत असर परेको र व्यवसायीहरूलाई आर्थिक क्षति बेहोर्नुपरेको ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्र बुझदै नेपाल विद्युत प्राधिकारण वितरण शाखा बुटवलका प्रमुख ईन्जिनियर रितेश गुप्ताले यस विषयमा आफुहरु गम्भिर रहदै पहल चलिरहेको बताए । विद्युत् आपूर्तिलाई नियमित, भरपर्दो र प्रभावकारी बनाउन आवश्यक प्राविधिक तथा व्यवस्थापकीय सुधार तत्काल लागू गर्न समेत आग्रह गरिएको छ ।





















