काठमाडौँ —
नेपालले विश्वकप लिग २ मा स्कटल्याण्डलाई ६ बिकेटले पराजित गरेको छ । इशान पाण्डे र कप्तान रोहित पौडेलले शतकीय साझेदारी गर्दै सोमबार स्कटल्यान्डलाई पराजित गरेको हो । नेपालले ३८.१ ओभरमै १ सय ९५ रनको लक्ष्य पूरा गरेको थियो ।
नेपालले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा स्कटल्यान्डलाई ४ खेलमा तेस्रो पटक पराजित गरेको हो । स्कटल्यान्डसँगको यस जितेपछि नेपाल लिग २ को अंक तालिकामा सातौंबाट पाँचौँ स्थानमा उक्लिएको छ । नेपालको २७ खेलमा २२ अंक पुगेको छ । स्कटल्यान्ड ३१ खेलमा ३८ अंकसहित शीर्ष स्थानमा कायमै छ । आठ राष्ट्र सहभागि लिग २ बाट शीर्ष चार टोली सोझै विश्वकप छनोटमा पुग्ने प्रावधान रहेको छ ।
नेपालले थप दुई शृंखला यसै वर्ष नेदरल्यान्ड्स र ओमानमा खेल्ने कार्यक्रम रहेको छ । कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई आक्रामक सुरुआत दिलाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्ड ३९.१ ओभरमा १ सय ९४ रनमा अलआउट भएको थियो । स्पिनरद्वय ललित राजवंशी ४ र सन्दीप लामिछानेले ३ बिकेट लिदै खेलमा हाबी भए । म्याकमुलेनले २८ बलमा चौथो छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गर्दा स्कटल्यान्ड विशाल लक्ष्यतर्फ अगाडि बढेको थियो । सन्दीपले ७३ खेलमा एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा चाँडो १ सय ५० विकेट लिने कीर्तिमान बनाएका छन ।






















