काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहे पनि बाँकी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ ।
कोशी, बागमती, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भू–भागका धेरैजसो तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ ।
त्यस्तै, आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भू–भाग, मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयबाट जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । प्रतिकूल मौसमका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी सूचनाबारे नियमित अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ ।






















