Spread the love

जनकपुरधाम । केही दिनयता जनकपुरधाममा देखिएको दुई समुदायबीचको विवादलाई संवाद र सहमतिमार्फत समाधान गर्ने उद्देश्यले तीनै तहका सरकारका प्रतिनिधिबीच महत्वपूर्ण छलफल भएको छ । गृहमन्त्री सुधन गुरुङको निरन्तर पहलपछि जनकपुरधामस्थित जिल्ला प्रशासन कार्यालयको भवनमा मधेश प्रदेश सरकार, स्थानीय तह र संघीय सरकारका प्रतिनिधिबीच छलफल भएको हो ।

छलफलमा मधेश प्रदेशका मुख्यमन्त्री, गृहमन्त्री तथा अर्थमन्त्रीसँगै जनकपुरधाम उपमहानगरपालिकाका मेयर र संघीय गृहमन्त्री गुरुङको सहभागिता रहेको थियो । बैठकमा पछिल्ला दिनमा उत्पन्न धार्मिक विवाद, त्यसबाट सिर्जित परिस्थिति तथा जनकपुरधाममा सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम गर्ने विषयमा गम्भीर छलफल भएको बताइएको छ ।

छलफलका क्रममा ‘हिन्दु सम्राट’को प्रतिनिधि टोलीले आफ्ना मागहरू सरकारसमक्ष औपचारिक रूपमा प्रस्तुत गरेको थियो । प्रतिनिधि टोलीले बुझाएको मागपत्र सरकारले ग्रहण गर्दै त्यसमा उल्लेखित विषयमा सम्बन्धित निकाय तथा पक्षसँग आवश्यक छलफल गरी समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता जनाएको छ । सरकारले प्राप्त मागहरूलाई वर्तमान परिस्थितिको संवेदनशीलतालाई ध्यानमा राख्दै सम्बन्धित पक्षसँग संवाद गरेर आवश्यक निर्णयमा पुग्ने जनाएको छ ।

बैठकमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्दै जनकपुरधामको शान्ति–सुरक्षा र सामान्य वातावरणलाई थप मजबुत बनाउने विषयलाई प्राथमिकतामा राखिएको थियो । गृहमन्त्री गुरुङको पहलमा भएको छलफललाई पछिल्लो समय देखिएको विवादलाई संवाद, सहमति र सहकार्यका माध्यमबाट समाधान गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । गृहमन्त्री गुरुङले यसअघि पनि विभिन्न राजनीतिक दल तथा सम्बन्धित पक्षलाई एकै ठाउँमा ल्याएर निरन्तर संवादको वातावरण निर्माण गर्ने प्रयास गर्दै आएका थिए। सोही प्रयासअनुसार भएको छलफलले सरकार सबै पक्षसँग समान शैलीमा सहकार्य र संवाद गर्न तयार रहेको सन्देश दिएको सहभागीहरूले बताएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्