काठमाडौं,२३ वैशाख । समस्याग्रस्त सहकारीका बचतकर्तालाई राहत दिने उद्देश्यले सरकारले आगामी जेठ पहिलो सातादेखि रकम फिर्ता प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले वैशाख ९ गतेदेखि काम सुरु गर्दै सहकारी र बचतकर्ताको विवरण संकलन गरी रकम फिर्ता प्रक्रिया अघि बढाएको हो ।
समितिका अनुसार करिब ७६ हजार बचतकर्ताको झण्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने अवस्था रहेको छ । पाँच लाख रुपैयाँभन्दा कम बचत गर्नेहरूलाई साना र सोभन्दा बढी बचत गर्नेहरूलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरेर रकम फिर्ता प्रक्रिया सुरु गर्ने तयारी गरेको समितिले जनाएको छ ।
बचत फिर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको र अब कार्यान्वयन चरणमा प्रवेश गरिने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बताईन । मागदाबी गरेका बचतकर्तालाई जेठको पहिलो सातादेखि रकम फिर्ता गरिने र छुट भएका बचतकर्ताका लागि साउनको पहिलो सातामा पुनः मागदाबी खुला गरिने बताईएको छ । कुल बचतकर्तामध्ये करिब १८ हजार जनाले पाँच लाखभन्दा बढी रकम बचत गरेको समितिले जनाएको छ ।






















