बुटवल, १६ बैशाख ।
निजी स्वास्थ्य क्लिनिकमा चिकित्सकको जाँच कोठाको न्यूनतम मापदण्ड कार्यान्वयनलाई लिएर पछिल्लो समय विवाद चुलिएको छ । प्रदेश राजपत्रमा उल्लेखित स्वास्थ्य क्लिनिक तथा पोलिक्लिनिकसम्बन्धी न्यूनतम भौतिक पूर्वाधार मापदण्डअनुसार बिरामी जाँच गर्ने कोठा कम्तीमा १४ वर्गमिटर हुनुपर्ने व्यवस्था गरिएको छ । तर, यो मापदण्ड लागू गर्नुपर्ने भएपछि अधिकांश साना तथा पुराना क्लिनिकहरू समस्यामा पर्ने देखिन्छन ।
सीमित स्थान र संरचनाका कारण उक्त मापदण्ड पूरा गर्न कठिनाइ हुने व्यवसायीहरूको गुनासो छ । विशेषगरी सहरी क्षेत्रका भाडामा सञ्चालन भइरहेका क्लिनिकहरूमा कोठा विस्तार सम्भव नभएको उनीहरू बताउँछन् । बुटवलमा रहेका ८० प्रतिशत क्लिनिकहरु भाडामा छन । मापदण्डमा जाँच कोठा हावापास हुने वा वातानुकूलित हुनुपर्ने, बिरामी बस्ने ठाउँ, चिकित्सकका लागि छुट्टै टेबल–कुर्सी, शौचालय, स्वच्छ खानेपानी लगायतका आधारभूत सुविधा अनिवार्य गरिएको छ । साथै, क्लिनिकमा प्रयोग हुने उपकरणको व्यवस्थापन, अभिलेख राख्ने प्रणाली र सरसफाइका मापदण्ड पनि कडाइका साथ पालना गर्नुपर्ने उल्लेख छ ।
गुणस्तरीय सेवा सुनिश्चित गर्न मापदण्ड आवश्यक भए पनि कार्यान्वयनका क्रममा व्यवहारिक पक्षमा ध्यान दिनुपर्ने नेपाल औषधी ब्यवसायी संघ रुपन्देही जिल्लाका अध्यक्ष खड्ग बस्नेत बताउछन । चिकित्सकको कोठाको मापदण्ड घटाएर अन्य मापदण्डहरु मान्न तयार रहेको उनि बताउछन । एक जना चिकित्सक, बिरामी र बिरामीको आफन्त अट्ने ब्यवहारिक मापदण्ड बनाउन उनको सुझाव छ । ‘हामीहरु बुटवल उपमहानगर, जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्रीको कार्यालय, स्वस्थ्य निर्देशनालय लुम्बिनी प्रदेशमा ज्ञापनपत्र बुझाईएका छौ ।’– उनले भने ।
हाल बुटवलमा ५० बढी क्लिनिकहरु दर्ता छन भने बाकी दर्ता प्रक्रियामा रहेका छन । रुपन्देहीमा औषधी पसलहरु भने १ हजार बढी छन ।






















