बुटवल, १८ चैत ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाका विभिन्न स्थानबाट करिब २१ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ । प्रहरीका अनुसार चैत १७ गते जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा भन्सार छली गरी अवैध रूपमा भित्र्याइएका रु. २० लाख ९९ हजार ७९३ बराबरका सामान नियन्त्रणमा लिइएको हो ।
बरामद गरिएका सामानहरू आवश्यक कारबाहीका लागि भैरहवास्थित पशु क्वारेन्टाइन कार्यालय र बेलहिया भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले जनाएका छन । सिद्धार्थनगर नगरपालिका–१ बेलहिया कोठहीमाई मन्दिर नजिकबाट सबैभन्दा बढी करिब १२ लाख रुपैयाँ बराबरका विभिन्न प्रकारका क्रीम, सनस्क्रिन, ट्रकका पार्टपुर्जा लगायतका सामग्री बरामद गरिएको छ ।
यस्तै, सिद्धार्थनगर–३ हाटबजार तथा आँखा अस्पताल नजिकबाट ठूलो मात्रामा केरा बरामद गरिएको छ भने सियारी गाउँपालिका, मायादेवी गाउँपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिका क्षेत्रबाट पनि मोटरसाइकलसहित केरा, माछा र अन्य खाद्यान्न सामग्री नियन्त्रणमा लिइएको छ ।
कोटहिमाई गाउँपालिका र अन्य स्थानबाट बोइलर कुखुरा, चिनी, कुर्ता सुरुवाल तथा विभिन्न किराना सामग्री समेत बरामद गरिएको प्रहरीले जनाएको छ । बुटवल उपमहानगरपालिका–९ मिलनचोकबाट पनि किराना सामग्री नियन्त्रणमा लिइएको छ । प्रहरीले अवैध कारोवार नियन्त्रणका लागि नियमित निगरानी र चेकजाँचलाई थप कडाइ गरिएको जनाएको छ ।





















