काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने तराई, उपत्यका र खोँचहरूका केही स्थानमा बिहान हुस्सु तथा कुहिरो लागेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। देशका बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ।
राति तथा बिहानको समयमा तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।






















