विराटनगर । देशभर १६ दिने महिला हिसा बिरुद्ध अभियान चलिरहदा मोरङमा महिला तथा बालिकामाथि भएका हिंसाका घटना बाहिरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले कानेपोखरी गाउँपालिकामा १४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी भएको आरोप तथा श्रीमतीमाथि कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको घटनामा संलग्नलाई पक्राउ गरि अनुसन्धान अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कानेपोखरी गाउँपालिका–६ स्थित एक घरमा ५५ वर्षीय नातेदारले १४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको सूचना प्राप्त भएपछि प्रहरीले आरोपितलाई पक्राउ गरेको थियो। घटनासम्बन्धी जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गरी जबर्जस्ती करणी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, श्रीमतीमाथि कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको अर्को घटनामा पनि प्रहरीको ध्यानाकर्षण भएको जनाएको छ । उक्त घटनामा प्रतिवादीका २३ वर्षीय छोराले आफ्नी आमामाथि भएको कुटपिटको भिडियो सामाजिक सञ्जालमा राखेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । उक्त घटनासँग सम्बन्धित व्यक्तिलाई पक्राउ गरी विद्युतीय अपराधसम्बन्धी कसुर तथा बालविवाहसम्बन्धी कसुरमा समेत थप अनुसन्धान भइरहेको सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिविरुद्ध हुने अपराधमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको जनाएको छ ।

 

 

">
Bajaj Grand Exchange Mela