बुटवल । उद्योगी–व्यवसायीमा बढ्दो मानसिक तनाव व्यवस्थापन तथा विद्यार्थीमा सकारात्मक सोच र अनुशासन विकास गर्ने उद्देश्यले बुटवलमा योग, ध्यान तथा ज्ञान प्रवचन कार्यक्रम गरिएको छ । ‘मनोक्रान्ति दोस्रो विश्व शान्ति ध्यानमय पदयात्रा’ मा सहभागीहरूलाई स्वागत गर्दै बिहीबार बुटवलका विभिन्न संघसंस्था तथा विद्यालयमा योग, ध्यान र ज्ञान प्रवचन कार्यक्रम गरिएको हो ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा विकासानन्द फाउन्डेसन विश्व परिवार बुटवल शाखाको सहआयोजनामा उद्योगी–व्यवसायीलाई लक्षित गरी कार्यक्रम गरिएको हो ।
व्यवसाय सञ्चालनका क्रममा उत्पन्न हुने मानसिक तनाव व्यवस्थापन र सकारात्मक सोचको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष नरिश्वर शर्मा पौडेलले बताए । योग, ध्यान र ज्ञान उद्योगी–व्यवसायी मात्र नभई आम मानिसका लागि पनि उत्तिकै उपयोगी हुने भएकाले पदयात्राको अवसर पारेर कार्यक्रम गरिएको उनले बताए ।
कार्यक्रममा योग गुरु स्वामी विकासानन्दले उद्योगी–व्यवसायीलाई योग, ध्यान र ज्ञान प्रवचनमार्फत तनाव व्यवस्थापनका उपायबारे जानकारी गराएका थिए । व्यवसायमा सफलता हासिल गर्न आर्थिक तथा व्यावसायिक दक्षतासँगै मानसिक शान्ति, आत्मअनुशासन र सकारात्मक सोच पनि आवश्यक हुने विषयमा उनले जोड दिएका थिए ।
संघका पदाधिकारी, पूर्वअध्यक्ष तथा सदस्य उद्योगी–व्यवसायी सहभागी कार्यक्रममा योग तथा ध्यानको अभ्यास गराउँदै मानसिक सन्तुलन कायम राख्ने र तनावमुक्त जीवनशैली अपनाउने विषयमा सहजीकरण गरिएको संघका महासचिव बसन्तप्रसाद ढकालले बताए ।
यसैगरी, बिहीबार नै कालिका मानवज्ञान माध्यमिक विद्यालयको सहकार्यमा विद्यार्थीलाई लक्षित गरी योग तथा ध्यान कार्यक्रम गरिएको छ । कार्यक्रममा ठूलो संख्यामा विद्यार्थीलाई योग तथा ध्यानको अभ्यास गराइएको थियो ।
विद्यालयका प्रधानाध्यापक विष्णुहरि ज्ञवालीले पछिल्लो समय विद्यार्थीमा स्क्रिन समय बढ्दै गएकाले त्यसलाई कम गर्न र मानसिक तथा शारीरिक स्वास्थ्यलाई सन्तुलित राख्न योग र ध्यान आवश्यक रहेको बताए ।
कार्यक्रममार्फत उद्योगी–व्यवसायीलाई व्यावसायिक तनाव व्यवस्थापन तथा विद्यार्थीलाई स्वस्थ जीवनशैली, सकारात्मक सोच र मानसिक एकाग्रताका लागि योग तथा ध्यानको महत्त्वबारे सचेत गराइएको आयोजकले जनाएका छन् ।


















