बुटवल, ११ मंसिर ।
मौलिक खानाका परिकारका पस्कने गरि बुटवलमा पाँच दिने खाना महोत्सव शुरु भएको छ । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीको आयोजनामा बुटवलको देविनगरस्थित खुलामंचमा बुटवल खाना महोत्सव शुरु भएको हो ।
कार्यक्रमको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै नगरलाई पर्यटकिय क्षेत्रको पहिचान र आर्थिक रुपमा चलायमान गराएर अघि बढ्न सक्ने सम्भावना रहेको बताए । बुटवलका राम्रा र सबल पक्षहरुको बारेमा बुझाउदै विकास अघि बढाउन सकिने उनले दाबी गरे ।
कार्यक्रममा केन्द्रिय महासचिव राजेश महतराले महासंघको सप्ताहब्यापी स्थापना दिवस चलिरहेको बताए । शहरमा जति नै भौतिक रुपमा विकास भएपनि ब्यवसायीको बत्ति नबोलेको उनले दुखेसो गरे । होटल ब्यवसायीहरुलाइ साझेदारीका रुपमा अघि नबढाउदा धेरै पटक आग्रह गरेको स्मरण गर्दै उनले होटल ब्यवसायी बिना पर्यटन क्षेत्र सफल हुन नसक्ने उनले बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवि अर्यालले स्वाद चाख्ने र रमाईलो मनाउने गरि उत्कृष्ट शैलीको महोत्सव बनाउन सुझाव दिए । खुला मंचलाई ब्यवस्थित गर्ने उदेश्य राखेको भएपनि त्यो सफल नभएको उनले बताईन। खानाको परिकार स्टलहरुमा राख्न समेत उनले बताए ।
कार्यक्रममा संघका निवर्तमान लेखनाथ भण्डारीले कालिका पथलाई रात्रिकालिन बजारको अवधारणा स्थानिय पालिकाबाट अघि बढाएको भएपनि कार्यान्वयनमा समस्या देखिएको बताए । खाना महोत्सवमा निशुल्क प्रवेशको ब्यवस्था गरेर सबै वर्ग र समुहलाई सहज गरिएको उनले बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र खनाल, नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डेय, वरिष्ठ सल्लाहकार माधव नेपालले पेशालाई अनुसासित र मर्यादित बनाउन सुझाव दिए ।
कार्यक्रममा संघका अध्यक्ष माधव कुमार खनालले धेरै स्थानमा सारेको खाना महोत्सव पछिल्लो संस्करणमा खुला मंच आईपुगेको भन्दै यो क्षेत्रलाई स्थायी रुपमा कार्यक्रम स्थलका रुपमा विकास गर्न सकिने बताए । सास्कृतिक कार्यक्रम समेत सम्पन्न भएको छ । यसैबिच कार्यक्रममा रयालीमा सहभागी संघसंस्थाहरुलाई समेत सम्मानपत्रबाट सम्मानित गरिएको संघका महासचिव केशव कंडेलले बताए । देशमा ८५ हजार ब्यवसायीहरु रहेका छन ।




















